|

काठमाडौं : वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दबाबपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाएका छन्। देउवाले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी केन्द्रीय समिति बैठक बोलाएका हुन्।

सभापति देउवाले राष्ट्रियसभा चुनावबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाए पनि पौडेल समूहले भने चुनावी समीक्षा सकेर मात्रै राष्ट्रियसभाको अनिवार्य एजेन्डामा प्रवेश गर्नुपर्नेमा जोड दिएको छ।

सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन प्रधानमन्त्री देउवामाथि दबाब बढाएका थिए। कांग्रेसभित्रै कोइराला परिवारका नेता हस्तीले पनि पार्टी संस्थागत रूपमा नचलेको, नेतृत्व कमजोर भएको जस्ता आरोप लगाउँदै केन्द्रीय समिति बैठक माग गर्न थालेपछि देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन्।

केन्द्रीय समिति बैठक बोलाउनुअघि मंगलबार पनि देउवाले वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेता कृष्ण सिटौलालगायत शीर्ष नेतासँग अनौपचारिक छलफल गरेका थिए। त्यसपछि उनले केन्द्रीय समिति बैठक बोलाएका हुन्। बिहीबारको बैठक तत्काल राष्ट्रियसभा निर्वाचन केन्द्रित हुने र तत्पश्चात् मात्रै चुनाव पराजयको गम्भीर समीक्षा हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

प्रवक्ता शर्माले भने, ‘बैठकको प्रमुख एजेन्डा राष्ट्रियसभाको निर्वाचन नै हो। त्यसपछि चुनावमा पराजयबारे गम्भीर समीक्षा हुनेछ।' तर, पौडेल पक्षले भने अबको केन्द्रीय समिति बैठकलाई राष्ट्रियसभा निर्वाचनमा मात्रै केन्द्रित गर्न चाहेको छैन।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लगत्तैदेखि कांग्रेसमा चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग भए पनि यसअघि बसेको एउटा बैठक समानुपातिक उम्मेदवारका विषयमा मात्र केन्द्रित हुन पुगेको थियो। बिहीबारका लागि बोलाइएको बैठक पनि कतै त्यसैगरी राष्ट्रियसभा चुनावमा मात्र केन्द्रित गरेर सभापतिले टुंग्याउने त होइन भन्ने आशंका पौडेल पक्षको छ।

पौडेल पक्षले राष्ट्रियसभा चुनाव छलफलको अनिवार्य एजेण्डा भएका कारण उक्त एजेन्डा अगाडि नै पार्टीको समग्र समीक्षा हुनुपर्नेमा जोड दिने तयारी गरेको छ। पौडेल पक्षीय केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बैठकमा पार्टी पुनःसंरचनाको मुद्दालाई प्राथमिकतासाथ उठाइने जानकारी दिए। उनले भने, ‘पार्टी पुरानै संरचनाबाट अगाडि बढ्न सक्दैन, गाउँ तहदेखि नै अब पार्टीमा आमूल परिवर्तन हुनु जरुरी छ। यसका लागि हामी बैठकमा विशेष रूपमा प्रस्तुत हुन्छौं।'

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.