|

काठमाडौं : भक्तबहादुर बस्नेत (८७) नयाँ बानेश्वरस्थित संसद भवन छेउमै धर्ना बसेको पाँच वर्ष भयो। वृद्धवृद्धालाई राज्यले विभिन्न प्रकारका सेवासुविधा दिनुपर्ने माग गर्दै उनी २०६९ फागुन २४ गतेदेखि संसद भवन छेउमै धर्ना बस्दै आएका छन्।

हिउँदको घाम न बर्खाको पानी, कुनै परवाह नगरीकन उनी आफ्नो अधिकार प्राप्तिका लागि निरन्तर यहाँ आइरहेका छन्। ‘घर त झापा हो। झापामा हुँदा पनि खोलाले सबै जमिन लग्ग्यो। २०४५ सालमा काठमाडौँ आएँ। त्यहाँदेखि शन्तिनगरमा भाडामा बस्दै आएको छु’, उनी भन्छन्, ‘सरकारले जम्मा दुई हजार भत्ता दिन्छ। काम गर्न सकिँदैन, यसले खानु कि भाडा तिर्नु?’

अहिलेसम्म विवाह गरेर गएकी कान्छी छोरीले सहयोग गर्दै आएको बताउने उनले छोराका बारेमा भने बोल्न चाहेनन्। ‘छोरीहरूले विवाह गरिसके। अहिले कान्छी छोरीले सहयोग गरिरहेकी छे। छोराहरूको कुरा नगरौँ’, भन्छन्, ‘घरमा भएकी बुढी र मलाई समस्या छ।’ आर्थिक अवस्था कमजोर भएका वृद्धवृद्धालाई सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन्। भन्छन्, ‘केही नभएका वृद्धवृद्धालाई त सरकारले बस्ने व्यवस्थासम्म त गर्नुपर्छ नि! पाँच वर्षदेखि धर्ना दिँदा पनि केही गर्दैन।’

उनी मात्र होइन, त्यहाँ दैनिकजसो केही वृद्धवृद्धा भेला भएर बस्ने गर्छन्। उनीहरूले अग्रज समाज नेपाल नै गठन गरेर प्रत्येक दिन बिहान १० बजेदेखि १ बजेसम्म धर्ना दिँदै आएका छन्। 'अग्रजलाई सम्मान गर' लेखिएको ब्यान राखेर बसेका उनीहरू प्राय: आफैँ दु:ख सुखका गफ गरिरहेका भेटिन्छन्। ‘अहिलेसम्म त मौन रूपमा धर्ना मात्र बसेका छौँँ’, समाजकी उपाध्यक्ष ६६ वर्षकी प्रभा लम्साल भन्छिन्, ‘अब पनि हाम्रा माग पूरा भएनन् भने हामी नारा लगाउँदै सडकमा उत्रन्छौँ।’

आफूहरूले जेष्ठ नागरिकको सम्मानका लागि आफ्ना माग अघि सार्दै पाँच वर्षदेखि धर्ना बस्दै आएको उनले बताइन्। वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई तत्काल घर फर्काउनुपर्ने आफूहरूको पहिलो माग रहेको उनले बताइन्। ‘हामीले जेष्ठ नागरिकलाई छोराछोरीसँगै बस्न पाउनुपर्ने एउटा माग राखेका छौँ’, उनले भनिन्, ‘ जेष्ठ नागरिककले पाउने भत्ता बढाएर पाँच हजार पुर्‍याउनुपर्छ। अस्पताल यातायातलगायत क्षेत्रमा ५० प्रतिशत छुट दिनुपर्छ।’

उनीहरूले सरकारले ६० वर्षदेखि नै वृद्ध भत्ताको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। सरकारले अहिले दलित, तथा लक्षित क्षेत्रबाहेकका वृद्धवृद्धालाई ७० वर्ष पूरा भएपछि मात्र उपलब्ध गराउँदै आएको छ। प्रत्येक महिना दुई हजारका दरले भत्ता दिने गरेको छ। ‘६० वर्षदेखि काम गर्न सकिँदैन अनि मर्ने बेलामा ७० वर्षदेखि भत्ता दिएर हुन्छ?’, त्यही ठाउँमा पाँच वर्षदेखि धर्ना बस्दै आएकी समाजकी सहसचिव सीता आचार्य भन्छिन्, ‘जबसम्म सरकारले हाम्रा माग पूरा गर्दैन, तबसम्म धर्ना बसिरहन्छौँ।’

स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा दलहरूले वृद्धवृद्धाले पाउँदै आएको भत्तालाई वृद्धि गरेर पाँच हजार रुपैयाँ पुर्‍याउने चुनावी घोषणापत्रमा समावेश गरेका थिए। त्यही भएकाले अब आउने सरकारले आफ्ना माग पूरा गर्ने उनी बताउँछिन्। ‘चुनावमा वृद्धभत्ता बढाउने भनेका छन्। हुनत यस्ता नाराहरू धेरै सुनिसकेका छौँ। तर अबचाहिँ कतै हाम्रा माग पूरा गर्छन् कि!’

समाजले गरेको आन्दोलन आफूहरूका लागि मात्र नभएको वृद्ध केशरबहादुर कार्की बताउँछन्। ‘यो आन्दोलन हाम्रा लागि मात्र होइन, पूर्वदेखि पश्चिमसम्मका वृद्धवृद्धाका लागि हो। अहिलेका युवाका लागि पनि हो। उनीहरू पनि त भोलि वृद्ध हुन्छन् नि’, उनले भने, ‘आफ्ना लागि मात्र भए त मागेर पनि बाँच्न सक्थ्यौँ नि!’ संसद भवन पनि नजिकै भएकाले उनीहरूले त्यही ठाउँलाई धर्नाका लागि रोजेका छन्। कार्की भन्छन्, ‘कति आन्दोलन गर्दा त सुनुवाइ हुँदैन, यहाँ बस्दा त कम्तिमा सांसदहरूले देख्छन्। कतै दया पलाइहाल्छ कि भनेर यो ठाउँ रोजेका हौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.