फास्ट बलर लुंगीले ३९ रन खर्चेर ६ विकेट लिँदा भारत दोस्रो टेस्टमा १ सय ३५ रनले पराजित

|

दक्षिण अफ्रिकाले दोस्रो टेस्टमा १ सय ३५ रनको जित निकाल्दै भारतविरुद्धको तीन टेस्टको सिरिजमाथि २ – ० ले कब्जा जमाएको छ। चौथो इनिङमा २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत बुधबार पाँचौँ दिन १ सय ५१ रनमै समेटियो। सेन्चुरियन पार्कमा दोस्रो टेस्टको अन्तिम दिन भारतले २ सय ५२ रन बनाउनुपर्ने थियो। तर, भारतले केवल १ सय १६ रन मात्र बनाउन सक्यो। 

पाँचौँ दिन भारतसँग ७ विकेट बाँकी थियो। भारतले दिनको सुरुवात ३५–३ बाट गरेको थियो। खेल सुरु भएको १५ ओभरसम्म भारतीय ब्याट्सम्यान संयमित देखिए। चेतेश्वर पुजारा १९ रनको अवस्थामा रनआउट भएपछि भारतको विकेटपतन सुरु भएको थियो। विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेल १९ रनमा आउट भए। हार्दिक पाण्ड्या ६ रनमै आउट भएका थिए। छैटौँ क्रममा ब्याटिङ गरेका रोहित शर्माले भारतका लागि सर्वाधिक रन बनाए। उनी ४७ रन बनाउँदै पेभिलियन फर्किए। उनले ७४ बलको आफ्नो इनिङमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। रविचन्द्रन आश्विन ३ रनमै आउट भए। अन्तिमतिर मोहमद  सामीले २८ रन बनाए।

दक्षिण अफ्रिकाका लुंगी गिदीले दोस्रो टेस्टमा डेब्यु गरेका थिए। डेब्यु टेस्टमै लुंगी उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिन सफल रहे। विशेषतः उनले दोस्रो इनिङमा सर्वोकृष्ट बलिङ गरेर भारतका ६ ब्याट्सम्यानलाई क्रिजबाट हटाए। २१ वर्षीय बायाँहाते फास्ट बलर गिदीले ६ विकेट लिन ३९ रन मात्र खर्चेका थिए। उनले आफ्नो स्पेलमा ३ मेडन ओभर पनि फ्याँके। गिदीले दोस्रो इनिङमा लोकेश राहुल, विराट कोहली, हार्दिक पाण्ड्या, रविचन्द्र आश्विन, मोहमद सामी र जस्प्रित बुम्राहलाई पेभिलियन पठाउँदै डेब्युलाई सनसनीपूर्ण बनाए।

सहज लक्ष्य पछ्याएको भारतका लागि सात ब्याट्सम्यान दोहोरो रन बनाउनबाट चुके। ओपनर मुरली विजय ९ र लोकेश राहुल ४ रनमा आउट भए। पहिलो इनिङमा १ सय ५१ रनको शतकीय इनिङ खेलेका कप्तान कोहली ५ रनमै एलबिडब्लु भए। त्यसैगरी, हार्दिक पाण्ड्याले ६ र आश्विनले ३ रन बनाए। पुछारका इशान्त शर्माले ४ तथा ब्रुमराहले २ रन जोडे। भारतको इनिङमा १ मात्र छक्का रोहितले प्रहार गरेका थिए।

यस्तो रह्‍यो रेकर्ड
भारतीय टेस्ट इतिहासमा दुवै इनिङमा रनआउट हुने चेतेश्वर पुजरा पहिलो ब्याट्सम्यान बने, समग्रमा टेस्ट इतिहासमा रनआउट हुनेमा पुजारा २३औँ नम्बरमा छन्, सन् २००० यता दुवै इनिङमा रनआउट हुने उनी पहिलो ब्याट्सम्यान बने । भारत दक्षिण अफ्रिकामा पछिल्ला सातमध्ये ६ भिडन्तमा पराजित भएको छ भने एक खेल बराबरी खेलेको  छ । दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले ३ हजार रनको कीर्तिमान पूरा गरेका छन् । उनि अघि दक्षिण अफ्रिकामा हसिम अमलाले ३ हजार रन पार गरेका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.