|

डडेल्धुरा : अमरगढी नगरपालिका–१ भेटाका सुन्तला कृषकहरू चिन्तित छन्। सुन्तलाका बिरुवामा लागेका रोग र फूल लाग्ने बेला परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएपछि किसानहरू चिन्तित भएका हुन्।

‘सुन्तलाको बिरुवामा फूल लाग्ने बेला पानी पर्‍यो। त्यसैले सुन्तलाको उत्पादन घट्यो।’ किसान इन्द्रबहादुर ऐरले दुखेसो पोखे, ‘बिरुवाको पात सुकेर जाने समस्या देखिएको छ। यसले पनि सुन्तलाको उत्पादन घटेको छ।’

जिल्लामा सुन्तला उत्पादनमा कमी आएको कृषकको अनुमान मात्र होइन, जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कले पनि यसलाई पुष्टि गरेको छ। कार्यालयको तथ्याङ्कअनुसार वर्सेनि १५ देखि २० प्रतिशतले सुन्तला उत्पादन घट्दै गएको छ। आर्थिक वर्ष ०७४/७५ भने ३० प्रतिशतले उत्पादनमा कमी आएको कार्यालयले जनाएको छ।

उत्पादनमा कमी आएसँगै किसानका आय पनि घटेको छ। सुन्तलाका दुईचार बोट हुनेले एक सिजनामा ३०/४० हजार रुपैयाँसम्म आर्जन गर्दै आएकामा यस वर्ष त्यसको आधा मात्र आर्जन गरेको किसान ऐरले बताए। ‘अघिल्लो वर्ष दुईचार बोट सुन्तला हुनेले ३० देखि ४० हजार रुपैयाँसम्मको बिक्री गरे।’ उनले भने, ‘गत वर्ष ४० हजार समाउनेले यो वर्ष १५ देखि २० हजार रुपैयाँ पनि मुस्किलले समाए।’ 

सुन्तलाको उत्पादनसँगै आयस्रोत पनि घटेपछि किसानहरू चिन्तित बनेका छन्। सुन्तला राम्रो फलेको बेला ३० हजार रुपैयाँसम्मको बिक्री गर्दै आएकी किसान जानुदेवी ऐरले यस सिजनामा ३ हजार रुपैयाँको पनि बिक्री नगरेको सुनाइन्। ‘फूल फुल्ने समय र फल लाग्ने समयमा आएको असिना पानीले सुन्तला सखाप पारिदियो।’ उनले चिन्ता प्रकट गरिन्, ‘सुन्तला बेचेरै घरखर्च चलाउँदै आएका थियौं, अब के गरी घरखर्च चलाउने?’

सुन्ताल उत्पादनमा कमी आउनुमा कृषि प्राविधिकहरू जलवायु परिवर्तनलाई मुख्य कारण ठान्दछन्। प्राविधिकका अनुसार जलवायु परिवर्तनका कारण सुन्तलाका बोटमा विभिन्न किसिमका रोग देखा परेको हो। जिल्लाका सुन्तला खेती भइरहेका अधिकांश स्थानमा यो वर्ष 'सिट्रस ग्रेनिङ' रोग देखा परेको छ। जसका कारण बोट सुक्ने, दाना सानो फल्ने र नपाक्दै दाना झर्ने गरेकाले सुन्तला उत्पादनमा गिरावट आएको हो। 

‘धेरै बुटा सुकेका छन्, दाना अडिन छाडेका छन्।’ अमरगढी कृषि शाखाका कृषि प्राविधिक जनकसिंह धामीले भने, ‘जलवायु परिवर्तनका कारण पछिल्लो समयमा सुन्तलामा नयाँ–नयाँ रोग देखिएका छन्।’

किसानमा व्यवसायिक ज्ञानको कमी हुनु पनि उत्पादनमा कमी आएको प्राविधिक धामी बताउँछन्। सुन्तला खेती गर्दै आएका किसानमा सुन्तला खेती गर्ने तरिका, प्रविधि, सीप र ज्ञानको पनि कमी देखिएको उनले बताए।

जिल्लाको अमरगढी नगरपालिका, बगरकोट, गांखेत, रुपाल, भागेश्वरलगायतका क्षेत्र सुन्तला उत्पादनका लागि प्रसिद्ध मानिन्छन्। यहाँका ४ सय ८१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.