|

झापा (दमक) : झापाको दमकदेखि पाँचथरको रबीसम्म जोड्ने दमक-चिसापानी-रबी (फाल्गुनन्द मार्ग) को ट्रयाक अढाई दशकपछि खोलिएको छ। मेची अञ्चलको तराई र पहाडलाई जोड्ने सबैभन्दा छोटो दूरीको यो मार्ग ०४९ सालदेखि निर्माण सुरु भएको हो।

सडककाे ट्रयाक खाेलिएपछि पहाडी क्षेत्रका बासिन्दालाई उत्साहित भएका छन्। सडक पूर्णरुपमा सञ्चालनमा आएमा पश्चिम दक्षिणी ईलामका बासिन्दाको आय स्तर बढ्ने उपभोक्ता समितिका उपाध्यक्षसमेत रहिसकेका माङसेबुङ–६, इलामका किरण राईले बताए। ‘बाटो नहुँदा न यहाँको सागपात तथा ओलनले बजार पाएको छैन,’ उनले भने, ‘बाह्रै महिना बाटो सञ्चालनमा आयो भने हाम्रो जूनी फेरिन्छ नि।’ बाटो नभएकाले नै ढुवानी समस्याकै कारण कृषि उपजले मूल्य नपाएको र पहाडी क्षेत्रका बासिन्दा दैनिक उपभोग्य समान र उपचार नपाएर हैरानी भोग्दै आएको उनले बताए। 

सडकको ट्रयाक खुलिसकेकाले भई सकेकाले अब सवारी साधनहरु दमकदेखि ईलाम हुँदै पाँचथरको रबीसम्म पुग्ने निर्माण उपभोक्ता समितिका रेवतराज पुरीले बताए। डिभिजन सडक कार्यालय दमकले सडकमा साना सवारी साधनहरू सडककै ट्रयाकबाट चल्न सक्ने जनाएको छ। 

स्थानीय स्तरबाट ०५१ सालमा निर्माण शुरु भएको यो सडक ईलामको चुलाचुली, माङसेबुङ र दक्षिणी ईलामका बासिन्दाको ‘लाईफ लाईन’को रुपमा रहेको निर्माण उपभोक्ता समितिका महासचिव हेमन्त राई बताउँछन्। दमकबाट पाँचथरको रबी पुग्न ४७ किलोमिटर छ। तर, ईलामदेखि राँके बजार हुँदै धाउनु पर्दा १ सय ७८ किलोमिटरको दूरीको यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

अझै सवा अर्ब रुपैयाँको खाँचो

सडकको ट्रयाक खुले पनि निर्माण पूरा हुन २ अर्ब रुपैयाँभन्दा बढी रकम आवश्यक पर्ने उपभोक्ता समितिका अध्यक्ष पुरीले बताए। ‘यसलाई पूर्णता दिन थप २ अर्ब २५ करोड रुपैयाँ आवश्यक पर्छ’ उनले भने, ‘केन्द्रीय सरकारको प्राथमिकतामा परिसकेकाले निर्माण पूरा हुनेमा ढुक्क छौं।’ यस सडक २ वर्षअघि नै सरकारको बहुवर्षीय योजनामा सूचीकृत भइसकाले गत वर्षदेखि वर्सेनि १५ करोड रुपैयाँ विनियोजन हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.