पर्वत : आठ करोड रुपैयाँको कारोबार गर्दै छैटौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, आद्योगिक, व्यापारिक प्रदर्शनी आइतबार साँझबाट सकिएको छ।
स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउन र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा २८ पुसदेखि महोत्सव सुरु भएको थियो।
म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठका अनुसार महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गरेका छन्। श्रेष्ठ भन्छन्, ‘महोत्सव हेर्न आएका डेढ लाख दर्शकलाई बिक्री गरिएको टिकट, सवारीसाधन, कृषि औजार, स्थानीय उत्पादन, खानाका परिकार, रमाइलो मेला र कृषि उपजसहित दुई स्टलहरुमा गरेर आठ करोडको कारोबार भएको छ।’
महोत्सवका मूल संयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले कोरला नाका र कालीगण्डकी कोरिडोर सञ्चालनका लागि राजनितिक नेतृत्वबाट प्राप्त भएको प्रतिबद्धता, पर्यटन प्रवद्र्धन र स्थानीय सम्भावनाको उजागर गराउन सक्नु महोत्सवको उपलब्धि भएको बताए।
स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, खुला लोकदोहोरी गीत प्रतियोगिता, कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुति, झाँकी प्रदर्शनी, रमाइलो मेला सञ्चालन भएको महोत्सवमा म्याग्दीका ६ वटा स्थानीय तहमा उत्पादित कृषि, वनपैदावार, लघुउद्यम र पशुजन्य वस्तुको प्रदर्शनी गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।