|

बाँके : बाँके, बर्दिया र सुर्खेतमा संचालन हुने आयोजनाले स्थानीयस्तरमा उत्पादन भएका सिमेन्ट प्रयोग नगरिदिँदा यहाँका सिमेन्ट उद्योग मारमा परेको संचालकले गुनासो गरेका छन्।

यहाँ संचालन हुने आयोजनामा कार्यरत इन्जिनियरले नाम किटान गरेर अन्यत्र उत्पादन भएका सिमेन्ट मात्र प्रयोग गर्न सिफारिस गरेका कारण चाहेर पनि उद्योगले उत्पादन बढाउन नसकेको जय मंगलम सिमेन्ट्स प्रालिका प्रमुख संजयकुमार अग्रवालले बताए।

उनले मासिक ५० हजार टनभन्दा बढी उत्पादन गर्ने उद्योगको लक्ष्य रहे पनि यस क्षेत्रका ठूला आयोजनाले स्थानीयस्तरमा उत्पादन भएका सिमेन्ट प्रयोग नगरिदिँदा सीमित मात्रामा सिमेन्ट उत्पादन गर्दै आएको बताए। ‘आयोजनाका कर्मचारीले माथिबाट सेटिङ मिलाएर विदेशी र बाहिरी जिल्लाका सिमेन्ट मगाउने गरेका छन्’, उनले भने, ‘आयोजनाले सिमेन्ट प्रयोग नगरेकै कारण उत्पादन बढाउन सकिएको छैन।’

उनले बाँकेमा उत्पादन भएका सिमेन्ट गुणस्तरीय भएको बताए। सिमेन्ट गुणस्तरीय भए पनि विभिन्न बहाना बनाएर आयोजनाले अन्यत्रको सिमेन्ट प्रयोग गर्न सिफारिस गर्दै आएको अग्रवालले बताए। ‘कमिसनको नाममा जय मंगलम सिमेन्ट्स प्रालिले उत्पादन गरेको सिमेन्टको बदनाम गरिँदै छ’, उनले आयोजनाले प्रयोग गर्ने सिमेन्टको गुणस्तरीयतामाथि प्रश्न गर्दै भने, ‘कमिसनका लागि सिफारिस गरिएका सिमेन्टको गुणस्तरीयतामाथि शंका गर्ने ठाउँ छ।’

उनले स्थानीयस्तरमा हुने आयोजनाले स्थानीय तहमा उत्पादन भएका सिमेन्ट प्रयोग गरिदिए धेरै राहत मिल्ने बताए। ‘स्थानीय तहमा उत्पादन भएका वस्तुको प्रयोग गरी स्थानीयस्तरका उद्योगको प्रवद्र्धन गर्ने दायित्व स्थानीयस्तरमा हुने आयोजनाको पनि हो’, अग्रवालले भने।

बाँकेमा उत्पादन भएका सिमेन्ट सस्तो

बाँकेको गनापुरमा रहेको जय मंगलम सिमेन्ट्स प्रालिले यति, स्टार, रकस्ट्रङ र गौरव ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ। यी सबै ब्राण्डका सिमेन्ट गुणस्तरीय भएकै कारण नेपाल गुणस्तर चिह्न प्राप्त गरेका छन्।

तर, आयोजना र परियोजनामा कार्यरत प्रमुख व्यक्तिले कमिसनको खेलमा जय मंगलम सिमेन्ट्स प्रालिले उत्पादन गरेको सिमेन्ट कमसल भएको भनेर बदनाम गर्दै आएको प्रालिका प्रमुख अग्रवालले बताए। ‘नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेकै कारण नेपाल गुणस्तर चिह्न पाएको हो, सिमेन्टको गुणस्तर नजाँचीकन गुणस्तरहीन भएको दाबी गर्ने अधिकार कसैलाई छैन’, उनले भने।

उनले बाँकेमा उत्पादन भएका सिमेन्ट बाहिरको भन्दा केही सस्तो भएको समेत दाबी गरे। उनले भारतीय सिमेन्टभन्दा बाँकेमा उत्पादन भएको सिमेन्ट प्रति बोरा ५० देखि ६० रुपैयाँ सस्तो हुने बताए। उनका अनुसार ढुवानी भाडा कम लाग्ने भएकाले यहाँ उत्पादन भएका सिमेन्ट केही सस्तो भएको हो। ‘सिमेन्टको भाउ सस्तो छ भन्दैमा गुणस्तरीयता कम छ भन्न मिल्दैन, कच्चा पदार्थ आयात र उत्पादन भएको सिमेन्ट ढुवानी भाडा कम लाग्ने भएकाले मात्र सस्तो भएको हो’, अग्रवालले भने।

उद्योगका लागि अपर्याप्त विद्युत, ५० प्रतिशत मात्र उत्पादन

उद्योग संचालनका लागि आवश्यक पर्ने विद्युत अहिले पनि पर्याप्त नभएको अग्रवालको भनाइ छ। उनले विद्युत अपुग भएकै कारण दैनिक ८ देखि १० घण्टा मात्र उत्पादन गर्न सकिएको बताए। उनले बिजुली बत्ती भएको बेला भोल्टेज अपुग हुने गरेको गुनासो गरे। लोडसेडिङको समस्या समाधान नभएसम्म उद्योगले उत्पादन बढाउन नसक्ने उनको भनाइ छ।

उनले विद्युत आपूर्ति सहज नहुँदा ५० प्रतिशत मात्र उत्पादन भइरहेको बताए। आफूले चाहेको बेला विद्युत प्रयोग गर्न पाउने वातावरण राज्यले मिलाउनुपर्ने उनको धारणा छ। ‘जतिखेर उत्पादन गर्ने समय हुन्छ, त्यतिखेर बत्ती हुँदैन, बत्ती हुन्छ, तर भोल्टेज हुँँदैन’, उनले भने, ‘चौबीसै घण्टा विद्युत पाए उत्पादन धेरै बढाउन सकिन्थ्यो।’

कच्चा पदार्थ आयात गर्न समस्या 

सिमेन्ट उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ (क्लिङ्कर) भारतबाट आयात हुँदै आएको छ। नेपालमा एकदमै कम मात्रामा क्लिङ्कर उत्पादन हुने भएकाले ९० प्रतिशत कच्चा पदार्थ भारतमै निर्भर भएको अग्रवालको भनाइ छ। भारतबाट आउने क्लिङ्कर ल्याउन समय समयमा समस्या उत्पन्न हुने गरेको उनले बताए।

‘क्लिङ्कर नआउँदा सिमेन्ट उत्पादनमा कमी आई बजारमा अभाव हुने गरेको छ,’ अग्रवालले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.