|

दमक (झापा) : पाँच करोड रुपैयाँ बराबरको कारोबार गर्दै दमक उद्योग वाणिज्य संघले आयोजना गरेको प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव मंगलबार समापन भएको छ। 

महोत्सवको समापन समारोहमा आयोजक दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले महोत्सव करिब एक लाख ५० हजार जनाले अवलोकन गरेको जानकारी दिए। महोत्सवमा पाँच करोड रुपैयाँ बराबरको कारोबार भएको उनको भनाइ छ। समापन कार्यक्रममा उनले भने, ‘लामो समयदेखि महोत्सव हुन सकेको थिएन, जसका कारण पनि महोत्सवमा उल्लेखनीय सहभागिता रह्यो।’

झापा क्षेत्र नं.- २ की सांसद पवित्रा निरौला प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहमा अर्गानिक कृषिका स्टल राख्ने तथा प्रदर्शनीमा सहभागिता जनाउने कृषकहरूलाई कार्यक्रमका विशिष्ट अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। दमकको ७ नम्बर वडामा पर्ने सयपत्री टोलस्थित रतुवा खोलाको बगरमा महोत्सव सञ्चालन भएको थियो।

पुष २७ गतेदेखि सुरु भएको महोत्सवमा विभिन्न घरेलु तथा हस्तकलाका सामानहरू विशेष आकर्षणका रूपमा रहेका थिए। महोत्सवमा हेलिकोप्टर, घोडा र ऊँट नौला रहे। महोत्सव अवधिभर हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूले विभिन्न प्रस्तुतिले मनोरञ्जन दिलाएका थिए। 

आइडल पुरस्कृत

दमक महोत्सवकै अवसर पारेर आयोजना गरिएको नृत्य प्रतियोगिताका दमक आइडलहरूलाई पनि कार्यक्रममा पुरस्कृत गरियो। ८५ जना सहभागीहरूलाई उछिन्दै एकलतर्फ दिपामा बस्नेत, सन्ध्या श्रेष्ठ र एना राई क्रमशः प्रथम, द्वितीय र तृतीय भए।

उनीहरूले क्रमश: १५, १० र ५ हजार रुपैयाँ पुरस्कार पाए। यस्तै, सामूहिकतर्फ प्रथम भएको एभरेष्ट बोर्डिङ स्कुलले ४० हजार, दोस्रो भएको दमक डान्स सेन्टरले २० हजार, तेस्रो भएको बैगुनधुरा बोर्डिङ स्कुलले १० हजार र चौथो स्थान ओगट्न सफल पाथिभरा बोर्डिङ स्कुलले ५ हजार रुपैयाँ नगद पुरस्कार पाएको महोत्सवका सांस्कृतिक समिति संयोजक विमल नेपालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.