|

नुवाकोट:  इलाका प्रशासन कार्यालय, सातबिसेबाट प्रवाह हुने सेवा कर्मचारी अभावमा बन्द भएको छ। इलाका प्रशासन कार्यालयमा अधिकृत प्रमुख रहने दरबन्दी भए पनि पदपूर्ति नहुँदा काजमा रहेका नायब सुब्बाको कार्यकाल पूरा भएपछि सोमबारदेखि सेवा बन्द भएको हो।

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने दुप्चेश्वर गाउँपालिकाका सबै वडा, तादी गाउँपालिका–१, २, ३ र ४ तथा पञ्चकन्या गाउँपालिका–३ र ४ गरी १३ वडाका नागरिकलाई सेवा दिँदै आएको इलाका प्रशासन कार्यालय कर्मचारी अभावले बन्द भएको हो। निमित्त प्रमुख ऋषेश्वर न्यौपानेको काज अवधि पूरा भएर प्रशासन कार्यालयमा फर्किएपछि इलाका कार्यालयमा सहयोगी मात्र रहेका छन्।

प्रमुख नहुँदा इलाका कार्यालयबाट प्रवाह हुँदै आएको नागरिकताको प्रमाणपत्र, नाबालक परिचयपत्र, आदिवासी–जनजाति सिफारिस, प्रमाणित सिफारिसलगायतको काम लिन नागरिक सदरमुकाम विदुर आउनुपर्ने बाध्यता छ। इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदी, गाउँखर्क, बेतिनीलगायतबाट दुई दिनको यात्रा गर्न बाध्य भएका छन्।

इलाका कार्यालयका लागि अधिकृतको दरबन्दी भए पनि गृह मन्त्रालयबाट पदपूर्ति नहुँदा केही दिन सेवा बन्द हुन पुगेकाले सामान्य रुपमा लिनुपर्ने प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । 'केन्द्रबाट समयमै कर्मचारी व्यवस्थापन नभएकाले जिल्लाबाट अर्को व्यवस्थापनको तयारीमा लागेका छौँ,' प्रजिअ यादवले भने, 'अवरुद्ध भएको सेवा अर्को सातासम्म सञ्चालन गर्ने लक्ष्य राखिएको छ।'

जिल्ला प्रशासन कार्यालयमा दुईजना अधिकृत कार्यरत भएकाले कुनै एक जनालाई पठाउन गृहबाट अनुमति लिनु नपर्ने भएपनि त्यसतर्फ प्रशासन कार्यालयले बेवास्ता गरेको सेवाग्राहीको गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.