|

कालिकोट : कालिकोटमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा नआएपछि प्रभावित क्षेत्रका १६ विद्यालय ४ दिनका लागि बन्द गरिएका छन्। जिल्ला शिक्षा कार्यालयले खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकाका विद्यालय ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो।

जिल्ला दैवी प्रकोप उद्धार समिति र स्थानीय वडाको आग्रहमा जिल्ला शिक्षाले खाँडाचक्रका १, २, ३ र ४ वडाका सबै १५ वटै र सान्नी त्रिवेणी गाउँपालिकाको एक विद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालय निर्णय गरेको छ।

भाइरल ज्वरो समूहमा बढी फैलिने सम्भावना भएकाले विद्यालय ४ दिन बिदा दिने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बताए ।

‘भाइरलबाट प्रायः सबैजसो बालबालिका प्रभावित भएकाले विद्यालय बन्द गर्नुपर्ने भयो ।’ उनले भने,‘समूह रहँदा झन् रोग फैलने डर रहन्छ।’

एकै विद्यालयमा १ सय ५० विद्यार्थी बिरामी

सान्नी त्रिवेणी गाउँपालिकोको बडरुख आधारभूत विद्यालयमा १ सय ५० विद्यार्थी बिरामी परेका छन्। खाँडाचक्रमा पनि ८० प्रतिशत स्कुले बालबालिका बिरामी परेको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए ।

‘गाउँमा जाँदा अधिकांश बालबालिकामा भाइरल र झाडापखाला देखिएकाले विद्यालय बन्द गर्न अनुरोध गरिएको छ।’ उनले भने, ‘मंगलबार पनि १ सय ७७ जना बिरामीको परीक्षण गरिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.