|

डडेल्धुरा : महिलाहरू घर भान्छामा सीमित हुनुपर्छ र आयआर्जनको काम पुरुषले मात्रै गर्नुपर्छ भन्ने मान्यताबाट बाहिर निस्केका डडेल्धुराका महिलाहरू आत्मनिर्भर हुनेतर्फ लागेका छन्। समाजमा विद्यमान पेसा विभाजनको परम्परा तोड्दै यहाँका धेरै महिला सिलाइ कटाइको काममा आवद्ध भइरहेका छन्।

पेसा छनोटसम्बन्धी समाजमा विद्यमान परम्परागत सोचबाट बाहिर निस्कँदै डडेलधुराका महिलाहरूले अहिले सिलाइ कटाइलाई आकर्षक पेसा बनाएका छन्। थोरै लगानीमा गुजारा चल्ने आम्दानी हुन थालेपछि महिलाहरू सिलाइ कटाइ व्यवसायतर्फ उन्मुख भएका हुन्।

सिलाइ कटाइ पेसामा लागेका महिलाहरूले यो कामबाट आफ्ना लागि र परिवारका लागि आवश्यक खर्च सजिलै जुटाउने गरेको बताउँछन्।

सिलाइ कटाइ व्यवसायबाट मासिक औसत २५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनीहरूको भनाइ छ। डडेल्धुराको अमरगढी नगरपालिका- २ चिमरिकोटमा सिलाइ कटाइ व्यवसाय गर्दै आइरहेकी खेमा थापा पाँच वर्षदेखि यो पेसामा आवद्ध भएको बताउँछिन्।

'यो पेसामा लागेको पाँच वर्षजति भयो', खेमाले भनिन्, 'यसबाट राम्रै आम्दानी भइरहेको छ। घरखर्च चलिरहेको छ अनि केही बचत पनि हुन्छ।' महिलाहरूले घरमा घाँसदाउरा मात्रै काट्नुभन्दा सीप सिकेर आत्मनिर्भर हुनु उपयुक्त हुने उनको भनाइ छ। उनी भन्छिन्, अहिलेका महिलाले घरको चुह्लोचौको, घाँसदाउरामा सीमित नभई केही सीप आर्जन गरी आफ्नो खुट्टामा उभिन सक्नुपर्छ।'

आफू सिलाइ पेसाबाट सन्तुष्ट रहेको बताउँदै उनले हातमा सीप भए अरूको धम्की सहनु नपर्ने बताइन्। सिलाइ कटाइ व्यवसायबाट मासिक १५ देखि २० हजार रुपैयाँसम्म कमाउने गरेको उनी बताउँछिन्। 'मासिक रूपमा आम्दानी भएको पैसाले घरखर्च चलाउनुका साथै बालबच्चाहरूको विद्यालय खर्च पनि यसैबाटै व्यहोरिरहेकी छु', थापाले भनिन्।

यस्तै, जिल्लाको अमरगढी नगरपालिका- ५ तुफानडाँडामा सिलाइ कटाइ व्यवसाय गर्दै आइरहेकी छन्, गायत्रीदेवी खड्का। उनी पनि विगत सात वर्षदेखि लुगा सिउँदै आएकी छन्। पेसाबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्दै खड्काले भनिन्, 'विगत सात वर्षदेखि यो पेसामा आवद्ध छु। मासिक २५ हजारसम्म आम्दानी गरिरहेकी छु।' काम गर्दै जाँदा सीप र क्षमता पनि बढ्दै गएको उनको अनुभव छ।

यसरी महिलाहरू स्वरोजगार तथा आत्मनिर्भर बन्दा समाजमा रोजगारी नपाएर विदेसिने सोच बनाएकालाई यी महिलाहरूले चुनौती दिएका छन्। विदेशमा गएर दु:ख गर्नुभन्दा सीप सिकेर स्वदेशमै कर्म गर्न नवदुर्गा गाउँपालिका- २ घर भई हाल डडेल्धुरा सदरमुकाममा सिलाइ कटाइ गर्दै आइरहेकी पुष्पा भट्टको सुझाव छ। 'विदेश जानुभन्दा त स्वादेशमै केही व्यवसाय गरेर बस्नुपर्छ', उनले भनिन्, 'आफ्नै देशमा सीप सिकेर काम गर्नु राम्रो हुन्छ।'

यो सफलता र आकर्षणले घरायसी कामकाज र चुह्लोचौकोमा सीमित महिलाका लागि सीप सिकेर आत्मनिर्भर र व्यावसायिक बन्न सकिन्छ भन्ने प्रेरणा दिइरहेको छ। त्यसो त समाजमा अझै पेसा छनोटसम्बन्धी परम्परागत मान्यता विद्यमान छ। तर यसरी सबै वर्ग र समुदायका महिलाले सहजै कपडा सिलाउने काम गर्न थालेपछि समाजमा क्रमशः परम्परागत सोचमा समेत परिवर्तन आउन थालेको छ। सिलाइ कटाइ पेसाले व्यावसायिक सफलतासमेत हासिल गरेको छ। कतिपय महिलाले घर खर्च मात्र चलाएका छैनन्, राम्रो बचतसमेत गरिरहेका छन्।

महिलाहरू सिलाइ सिक्दै

पछिल्लो समय जिल्ला सदरमुकाममा थुप्रै महिलाहरू सिलाइ कटाइ सिकिरहेका देखिन्छन्।

सदरमुकाममा संचालनमा रहेका सिलाइ कटाइ पसलहरूमा उनीहरू सिकिरहेका भेटिन्छन्।

तीनैमध्ये एक हुन्, अमरगढी नगरपालिका- २ चिम्रिकोटकी अलिसा तामाङ। उनी विगत एक महिनादेखि सिलाइ कटाइ सिक्दै आएकी छन्। सीप सिके जहाँ गएर पनि जीवन चलाउन सकिने तामाङको बुझाइ छ। आफू आत्मनिर्भर हुन सीप सिकिरहेको उल्लेख गर्दै अलिसाले भनिन्, 'सीप सिक्नु सबैभन्दा ठूलो कुरा हो। सीप सिकियो भने जुनसुकै ठाउँमा गएर पनि काम गर्न सकिन्छ।'

उनले अहिले पनि हाम्रो समाजमा धेरै महिला दिदीबहिनीहरू चुह्लोचौकामा सीमित रहेका र उनीहरूले पनि यस्तो सीप सिके भने चुह्लाचौकामा मात्र होइन, आफ्नो व्यवसाय पनि गर्न सक्ने बताइन्। सीप सिके पुरुषको भर नपरी महिलाहरूले पनि घरव्यवहार चलाउन सक्ने उनको भनाइ छ।

डडेल्धुराका शहरी क्षेत्रमा मात्र नभई अहिले ग्रामीण भेगका महिला पनि सिलाइ कटाइ पेसामा आकर्षित हुन थालेका छन्। सिलाइ पेसालाई मुख्य पेसा बनाएका कतिपय महिलाले अहिले व्यावसायिक सफलतासँगै व्यवसायी बनेर थप महिलालाई रोजगारीसमेत दिएका छन्।

यसरी महिलाले आम्दानीको स्रोत पहिचान गरी सिलाइ कटाइलाई व्यावसायिक बनाउँदा बजारमा तयारी पोसाकको खपत केही हदसम्म कम भएको छ भने स्थानीय सीप र उत्पादनप्रति सर्वसाधारणको आकर्षण बढ्न थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.