|

पहिलो लेगमा गोलरहित बराबरी भएपछि निर्णायक मानिएको दोस्रो लेगमा चिरप्रतिद्वन्द्वी चेल्सीलाई २-१ ले हराउँदै आर्सनल फाइनल प्रवेश गरेको  छ। बुधबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको दोस्रो लेगमा आर्सनल सिटीविरुद्धको फाइनल भेट पक्का गर्न सफल रह्यो।

साविक प्रिमियर लिग च्याम्पियन चेल्सीले आर्सनलविरुद्ध सुरुवाती अग्रता बनाए पनि अग्रता जोगाउन असफल भयो। ७ औं मिनेटमा पेड्रोको पासलाई चेल्सी स्टार इडन हजार्डले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर खेललाई बराबरीमा ल्याउने क्रममा एन्टोनियो रुडिगरले आर्सनललाई १२ औं मिनेटमा आत्मघाती गोल उपहार दिएपछि सुरुवातमा नै खेल बराबरीमा आयो।

पहिलो हाफ १-१ गोलको बराबरीमा  सकिएपछि प्रतिस्पर्धात्मक  बनेको दोस्रो हाफमा ग्रानिट छाकासले गोल गर्दै आर्सनललाई वेम्बलीमा हुने फाइनलमा स्थान पक्का गराए । ६० औं मिनेटमा ग्रानिटले निर्णायक गोल गरेपछि आर्सनल उत्साही देखिएको थियो। जितपछि आर्सनल पहिलो लेगको गोलरहित बराबरीका कारण समग्रमा २-१ ले अघि रह्यो। 

केही दिनअघिमात्र स्टार खेलाडी एलेक्स सान्चेजलाई बेचेको आर्सनल लामो समयको खराब प्रदर्शनपछि पहिलो पटक शीर्ष टिमविरुद्ध लय समाउन सफल रह्यो । लिग कपको फाइनलमा आर्सनलले लिग लिडर म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्ने छ। प्रिमियर लिगमा शीर्ष स्थानको सिटीभन्दा आर्सनल २३ अंकले पछि छ।

आर्सनलले लिगकप फुटबलमा ८ औं पटक फाइनलमा स्थान बनायो। लिगकपमा सर्वाधिक रूपमा फाइनलमा स्थान बनाउने टिमका रुपमा लिभरपुल रहेको  छ। लिभरपुल १२ पटक लिग कपको फाइनलमा पुग्दा म्यानचेस्टर युनाइटेड ९ पटक तथा एस्टन भिल्ला र टोटनह्याम हटसपुर समान ८ पटक लिगकपको फाइनलमा स्थान बनाउन सफल भएका छन्। आर्सनल र म्यानचेस्टर सिटी विच १ महिना पछि फेब्रुअरी २५ मा वेम्बलीमा उपाधिका लागि फाइनल भिडन्त हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.