|
फाइल फोटो

झापा : शौचालयमा शौच गर्न नमानेपछि झापाको शिवसताक्षी नगरपालिकामा शौचालय प्रयोग गराउन प्रहरी परिचालन गरिएको छ।

खुला दिसामुक्त गर्ने उद्देश्यले निर्माण गरिएको शौचालय छाडेर सर्वसाधरणले खुलारूपमै दिसापिसाब गर्न थालेपछि गाउँमा प्रहरी परिचालन गर्नुपरेको नगर प्रमुख चन्द्र सेर्मा बताउँछन्। वर्षौदेखि खुला चउर, खोलाखोल्सीको किनार र नजिकैको जंगलमा दिसापिसाब गर्दै आएका शिवसताक्षी नगरपालिका–६, ७, ९, १० र ११ मा प्रहरी परिचालन गरिएको खुला दिसामुक्त कार्यक्रमकी सहजकर्ता लीला नेपालले बताइन्।

शौचालय त निर्माण भयो तर ढोका बन्द गरेर शौच गर्न बस्दा शौच नै नआएको र आडोरमा थुनिएजस्तो लागेका भन्दै उनीहरूले शौच गर्न नमानेका हुन्।

स्थानीय सुकमाया देवान भन्छिन्, ‘वर्षौंदेखि बाहिरै दिसापिसाब गर्ने बानी पर्‍यो, भर्खरै बनाएको पाइखानामा धेरैबेर बस्दा पनि दिसा आएन। बन्द कोठमा थुनिएजस्तै लाग्यो। हतारहतार नजिकैको खोल्सीमा गएर आनन्दले शौच गरें।’

स्थानीयहरूमध्ये केहीले वर्षौंदेखि माइखोलाको किनार, सताक्षी खोला, झरना खोलामा बनाइएको नहरको डिल तथा रतुवामाई वृक्षरोपण आयोजनाको जंगल क्षेत्रमा शौच गर्दै आएका छन्। उनीहरू भन्छन्, ‘पहिलादेखि लागेको बानी छाड्न नसकिने रहेछ।’

‘शौचालय निर्माण भइसक्यो तर शौच गर्न गएनन्, खुलारूपमै गरे। हामीले धेरै सम्झायौं, बुझायौं भएन,’ नगर प्रमुख सेर्मा भन्छन्, ‘बाध्य भएर प्रहरी परिचालयन गर्नुपर्‍यो।’

स्थानीयवासीले शौचालय प्रयोग गर्न नमानेपछि प्रहरी र प्रतिनिधि सँगसँगै गाउँ डुल्दै कारवाही गर्ने चेतावनी दिइरहका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.