|

विराटनगर : कुखुराको चल्ला तथा दाना उत्पादन गर्ने मोरङ टंकिसिनुवारीमा रहेको नेपाल वइल होप फिड्स इन्डष्ट्रिज (विजय पेलेट दाना)बाट उत्पादित दानाको मूल्यभित्र र बाहिर फरक-फरक राखेको पाइएको छ। 

यसअघि पनि उक्त उद्योगले किसानलाई मारमा पारेको भन्दै विरोध हुँदै आएको थियो। किसानको उजुरीका आधारमा आपूर्ति विभाग, वाणिज्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ र किसानको संयुक्त टोलीले गरेको अनुगमनमा मूल्यमा मनपरी गरेको पाइएको हो। उक्त उद्योगबाट उत्पादित दानाको अधिकतम मूल्य कम्पनीभित्र राखेको भए पनि बाहिर पठाउन मेटाएर पठाउने गरेको पाइएको हो।

त्यसका साथै उद्योगका आधिकारिक विक्रेताले ४५ प्रतिशतभन्दा बढी नाफा राखेर बिना बिल किसानलाई दाना विक्री गरेको फेला परेको छ। आपूर्ति मन्त्रालयबाट अप्सरा कोइरालाको नेतृत्वमा आएको टोलीले उद्योग तथा सप्लायर्सको अनुगमन गरेको थियो। ‘दाना उद्योगहरुले मूल्यमा सिण्डीकेट लगाएको पाएका छौं’ ,अनुमगनमा खटिएकी कोइरालाले  भनिन्, ‘सरकारी नियम एकातिर र उद्योगी व्यवसायीको सिण्डिकेट अर्कातिर भएका कारण किसान मारमा परेको देखियो।’ किसानलाई बेच्ने मूल्य र कम्पनीको मूल्यमा फरक भएको कारण उद्योगलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा दर्ता गरेर आवश्यक कारबाही गरिने कोइरालाले जानकारी दिइन्।

कोइरालाले उद्योग र फर्जी बिलमा विक्री गर्ने पुष्पलाल चोकको साह पोल्ट्री सप्लायर्सलाई ७ दिनभित्र विभागमा उपस्थित हुन पत्र पठाएको जानकारी दिइन्। साह पोल्ट्री सप्लायर्सले २२ सय मूल्य पर्ने दानाको मूल्य ३२ सयदेखि ३५ सयसम्ममा विक्री गरेको अनुगमनका क्रममा फेला परेको थियो। त्यसका साथै फर्जी बिलको ठेली नै टोलीले फेला पारेको छ।

‘साह पोल्ट्रि सप्लायर्सले ३५ रुपैयाँ पर्ने चल्लालाई ८० रुपैयाँसम्ममा विक्री गरेर किसानको ढाड सेक्ने काम गरिरहेको कुखुरा पालक किसान तथा अनुगमन टोलीका सदस्य जनार्दन रेग्मीले बताए। साह सप्लायर्समा भने बिना अनुमति औषधी बिक्री गरेको पाइएको थियो।
अनुगमन टोलीले पुष्पलाल चोककै थापा फिड्स सप्लार्समा पनि अनुगमन गरेको थियो। उक्त सप्लायर्सलाई पनि टोलीले मोरङ प्रशासन कार्यालयमा सात दिनभित्र उपस्थित हुन पत्र काटेको छ । पोल्टिर्फम तथा कुखुराको दाना विक्रेताहरुले मनोमानी दाना तथा चल्ला बिक्री गरेको भन्दै मोरङका कुुखुुरापालक किसान विरोधमा उत्रिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.