|

दाङ : नेपालमा  केही  पनि  काम  छैन  भनेर  दैनिक सयौँ युवाहरू विदेश पलायन  भइरहेका  छन् भने केही युवा  बेरोजगार  बसेका  छन्। तर दाङ तुलसीपुर– ५ का गोविन्दप्रसाद बस्यालले भने एकल प्रयासमा बञ्जर  जमिन हरियाली बनाउनुका साथै मनग्य पैसा पनि कमाइराखेका छन्। 

२०७२ सालदेखि राप्ती अञ्चल अस्पतालको करिब सात  विगाहा  जग्गा  १०  वर्षमा भाडामा  लिई  उनले ‘आँटे के  हुँदैन  र,  गरे के  संभव छैन’ भन्ने उदाहरणीय काम गरेका छन्। तुलसीपुर उपमहानगरपालिका– ५ तुलसीपुरमा  बस्दै  आएका  ५९ वर्षका  बस्यालले   राप्ती  अञ्चल  अस्पतालको  प्रयोगविहीन जग्गामा ०७२ सालदेखि लगाएको तरकारी तथा फलफूलका बिरुवा हुर्किएको देखेर बाटो हिँड्ने मानिसहरू दंग हुन्छन्। कुनै प्रयोगमा नआएको र कसैले कुनै संभावना नदेखेको अस्तालको झन्डै सात विगाहा जग्गा बस्यालले  १० वर्षका लागि छ लाख रुपैयाँमा भाडामा लिएर खेती सुरु गरेका हुन्। बस्यालले जग्गाको भाडा मासिक पाँच हजार रुपैयाँ तिर्छन्। 

अस्पताल क्षेत्रको उपयोगविहीन जग्गा भाडामा लिएको सुनेपछि उनकै आफन्तले समेत उनलाई त्यतिबेला गालीे गरेका थिए।  ‘कुनै उब्जाउ नहुने रातो डाँडोमा पनि तरकारी खेती गर्न सम्भव छ?’, बस्यालले जग्गा भाडामा लिएपछि एक जना आफन्तले बोलेका शब्द स्मरण गर्दै भने, ‘हेर गोविन्दे, तँ बौलाइस् कि क्या हो?’ तर उनको लगन र मिहिनेतले छ  महिनाभित्रै त्यहाँ उत्पादन भएको तरकारी देखेर तिनै व्यक्ति दंग भए रे! 

हुन पनि अञ्चल अस्पतालको बञ्जर जमिन आज गोविन्दको मिहिनेतले हराभरा भएको त्यहाँ पुग्ने जोकोहीले पनि देख्न सक्छ। गोविन्दले आज उक्त बञ्जर जमिनमा श्रम र सृजना खन्याएर उक्त जमिनको मुहार नै परिवर्तन गरिसकेका छन्। २०७२ कात्तिक १ गतेदेखि लागू हुने गरी अञ्चल विकास समितिसँग बस्यालले उक्त जग्गा २०८२ असोज मसान्तसम्मका लागि भाडामा लिएका हुन्। 

भाडामा लिएको सुरुको वर्षमै तरकारी खेती गरेका बस्यालले पहिलो वर्षमै बन्दागोभीबाट तीन लाख रुपैयाँ बढी मुनाफा गर्न सफल भएको बताए। तर दोस्रो वर्ष भने उनले त्यही बन्दागोभीबाटै करिब छ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको जानकारी दिए। रोग र कीराको प्रकोप र धेरै वर्षाका कारण आफूले उक्त घाटा व्यहोर्नुपरेको बस्यालले बताए। 

घाटा भए पनि आफू त्यसबाट कति पनि विचलित नभएको र तरकारी खेती छाडेर केरा तथा उखु लगाएको बस्याल बताउँछन्। उखु पनि भनेजस्तो नभएपछि उनी अहिले केरा  खेती गर्दै छन्। अब अस्पताल परिसरमा पूरै केरा खेती गर्ने बस्यालले बताए। 

यस वर्ष यो सबै मिलाएर फुटकरमा बेच्दा उक्त जमिनमा वार्षिक एक लाख रुपैयाँसम्मको कारोवार हुने बताए। तर, उनले उक्त जमिनमा झन्डै एक हजार ५०० जति केराका बोट हुर्काइरहेका छन्। ‘जी नाइन र झापाली मालभोग गरी ५०० बिरुवा गत असारमा र एक हजारवटा वइने हाइब्रिड जातको केरा ०७३ असारमा लगाएको हुँ’, बस्यालले भने। लगाएका सबै कुराका बोट बाँचेका र राम्रोसँग हुर्किरहेका पनि उनले जानकारी दिए। 

अब उनको आशा यही केरा खेतीमा छ। यसअघि हालसम्म उनले आफू घाटामा नै भएको बताए। ‘बिहान ७ बजे आउँछु, दिउँसोको समयमा छाडा चैपायाहरूले काम गर्न दिँदैनन्। तिनीहरूलाई हेर्नुपर्छ। राती केरामा पानी हाल्छु’, उनले भने। कहिलेकाहीँ त राती १२ बजेसम्म काम गर्ने गरेको उनले बताए। उक्त ठाउँमा अञ्चल अस्पतालको पोष्टमार्टम गर्ने भवन पनि छ। 

तरकारी खेतीमा सीसी क्यामेरा जडान 
आफ्नो खेतीको रक्षाका लागि बस्यालले त्यहाँ छ लाख रुपैयाँको लगानीमा ११ वटा सीसी क्यामेरा पनि जडान गरेका छन्।  उनले खेती क्षेत्रमा आठवटा, इलाका प्रहरी कार्यालयमा एउटा र अञ्चल अस्पतालमा थप ११ वटा सीसी क्यामेरा निजी लगानीमा जडान गरिदिएको बताए। 

निःसन्तान बस्याल दम्पत्ती आफ्नो खेतबारीलाई नै सन्तानसरह रेखदेख गर्छन। तर उनको यो खेतीमा छाडा चौपायाले दुःख दिने गरेका छन्। हाल झन्डै तीन विगाहा क्षेत्रफलमा विभिन्न प्रजातिका केरा हुर्काइरहेको बताएका बस्यालले केराको बेर्ना प्रति बोट ५० रुपैयाँको दरले खरिद गरेको बताए। ‘७५ हजारको केरा रोपेको छु र हाल त्यसको रेखदेख, सिँचाइ, मलको प्रयोगसमेत गर्दा मासिक खर्च ७० हजारजति हुने गर्छ’, बस्यालले भने। 

बस्यालले बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म दर्ता गरी कृषि कर्ममा लागेका हुन्। हालसम्म आफू पूर्ण सन्तुष्ट रहेको उनले बताए। ‘यो सबै गर्न मैले दुईवटा घडेरी १६ लाखमा बेचेको छु। त्यसबाहेक थप सात लाख नगद लगानी पनि परेको छ’, बस्यालले भने, ‘म आत्तिएको छैन, केराले पार लगाउँछ  भन्ने सपना सँगालेको छु।’

बस्यालले आफू अझै उत्साहित र  आशावादी भएको बताए। ‘कसैले सम्भावना नदेखेको डाँडोलाई मैले हराभरा पारेर देखाउन सकेँ’, बस्यालले थपे, ‘इमान्दारीपूर्वक लागिपरेमा नसोचेको ठाउँमा पनि केही गर्न सकिँदोरहेछ भन्ने मेरा लागिसमेत गतिलो पाठ भएको छ।’  उक्त ठाउँ केटाकेटीहरू डेटिङ जाने ठाउँ भएको बताउँदै बस्यालले भने, ‘अहिले पनि केही आउँछन् तर लखेटेर पठाउँछु। मैले गर्दा अहिले यो ठाउँ यस्तो हराभरा भयो।’ 

उनले राज्यले कृषि क्षेत्रमा थुप्रो अनुदानको व्यवस्था गरेको सुन्ने गरेको भए पनि आफूले भने अनुदानको लागि जति नै धाउँदा पनि कतै बाट अनुदान पाउन नसकेको बताए। ‘जिल्ला कृषि विकास कार्यालयदेखि कृषि मन्त्रालयसम्म धाउँदा हैरान भएको छु। तर, मेरा फाइलहरू त्यहीँ थन्क्याउने काम मात्रै भयो’, उनले भने, ‘अनुदान पनि पहुँचको आधारमा वितरण हुँदोरहेछ। हामी जस्ता सोझा किसानको लागि होइनरहेछ।’

आफ्नो योजना ठूलो रहेको भन्दै बस्यालले सामान्य घाटा नाफासँग कुनै परवाह नहुने बताए। आफू निरन्तर कृषि कर्ममै लागिपर्ने बताउने उनले आधुनिक कृषि पेसालाई कसरी आम कृषकसम्म पुर्‍याउन सकिन्छ भन्ने कुरा आफूले सधैँ सोच्ने गरेको बताए। बस्यालले हालसम्म आफूले पूर्ण रूपमा अर्गानिक खेती गर्दै आएको जानकारी दिए। बस्यालले आफूले भाडामा लिएको पूरै जग्गामा केरा खेती विस्तार गर्ने सोच बनाएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.