‘बगनासकालीलाई धार्मिक पर्यटकीय क्षेत्रको पहिचान दिनेछु’

|

  • मिलन विश्वकर्मा-

पाल्पा : बगनासकाली गाउँपालिका– ८ बराङ्दीमा पछिल्लो समय धार्मिक चहलपहल निकै बढेको देखिन्छ। यहाँ कहिलेकाहीँ कसैको विवाह, ब्रतबन्ध र गाउँघरमा हुने सामान्य महायज्ञमा धार्मिक कार्यक्रम हुने गर्दथ्यो तर पछिल्लो समयमा यहाँ धार्मिक कार्यक्रम दैनिकजसो हुने गरेका छन्। 

दैनिक आन्तरिक तथा बाह्य पर्यटकसमेत यहाँ आउने गर्छन्। बगनासकाली गाउँपालिका– ८ झिरुभञ्ज्याङका ४६ वर्षका भीम बस्यालले नेपालमा अहिलेसम्मकै ठूलो शिवको मूर्ति ल्याएपछि यहाँ धार्मिक चहलपहल निकै बढेको हो। ‘पूजाआजाको लागि मात्र होइन, मूर्ति हेर्नका लागि पनि आन्तरिक तथा बाह्य पर्यटक दैनिक यहाँ आउने गर्छन्’, स्थानीय मोहन अर्यालले भने। झण्डै ६० जना भक्तालु दैनिक आउने गरेको उनले बताए। मूर्ति हेर्नका लागि जिल्लाबाहिर र देशबाहिरका पर्यटक पनि आउने गरेका उनको भनाइ छ। 

नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो दाबी गरिएको शिवको मूर्ति यहाँ रहेको छ, जुन मूर्तिको मूल्य एक करोड रुपैयाँभन्दा बढी परेको छ। ललितपुरको पाटनमा झण्डै अठार महिना लगाएर निर्माण गरिएको उक्त मूर्ति नेपालमा अहिलेसम्मकै ठूलो दाबी गरिएको छ। ७० प्रतिशत तामा र ३० प्रतिशत पित्तल मिसाएर बनाइएको मूर्तिको तौल ३३ क्विण्टल रहेको लगानीकर्ता भीम बस्यालले बताए। उनका अनुसार मूर्तिको उचाइ १२ फिट ४ इन्च रहेको छ। यद्यपि, बसेको अवस्थामा रहेको मूर्तिको जमिनदेखिको मापनमा भने १८ फिट उचाइ रहेको छ। 

मूर्तिको नजिकै शिवलिंगसमेत रहेको छ। प्राकृतिक रूपमै बनेको शिवलिंग भारतको नर्वदा नदीबाट ल्याइएको उनले सुनाए। भीमका अनुसार साढे तीन फिट अग्लो यस शिवलिंगको मूल्य १२ लाख रुपैयाँभन्दा बढी परेको छ। यी धार्मिक संरचना हेर्नका लागि अहिले पनि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्। लगानीकर्ता भीमले भने अझै विस्तार र विकास गरेर यस क्षेत्रलाई धार्मिक क्षेत्रको रूपमा पहिचान दिने आफ्नो लक्ष्य रहेको बताए। 

यहाँ अखण्डदीप पनि राखिएको छ। मानसरोवर, भक्तजन धर्मशाला, सत्सङ्ग प्रवचन हललगायतका अन्य संरचनाहरू पनि निर्माण भइरहेको शिवासन नेपालका अध्यक्ष माधव बस्यालले बताए। उनका अनुसार विभिन्न संरचनाहरू निर्माणका लागि अहिले स्थानीय निकाय र विभिन्न व्यक्ति तथा सहयोगी दाताहरूले पनि सहयोग गर्न थालेका छन्। 

भीम बस्याल रोजगारीका सिलसिलामा हाल बेलायतमा बस्दै आएका छन्। बुढानीलकण्ठमा अध्ययन गरिरहेका उनलाई गाउँ निकै पछाडि पर्‍यो, गाउँलेहरू पीडित भए भन्ने लागिरहन्थ्यो। भीमले गाउँका लागि केही गर्नसके हुन्थ्यो भन्ने सोच्थे। ‘सामान्य किसानको छोरो म’, उनले भने, ‘सुखी र सुनौलो भविष्य खोज्दै बेलायत पुगेँ तर चिन्ता गाउँघरकै थियो।’ 

उनी धार्मिक कार्यले गाउँमा विकास गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगे। पछिल्लो समय धर्मप्रति मान्छेको चासो कम हुँदै गएको र गाउँमा विकृति, विसंगति फैलिएको उनलाई महसुस भयो। आपराधिक घटनासमेत बढेको देखेपछि भीमले धार्मिक गतिविधिले मान्छेलाई सभ्य, अनुशासित, इमान्दार बनाउन प्रेरित गर्छ भन्ने सोचे। ‘यही कारण गाउँलाई धार्मिक क्षेत्रको रूपमा विकास गर्ने प्रयत्न गरेको हुँ’, उनले भने, ‘धार्मिक पर्यटनको रूपमा विकास गरियो भने यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् र आर्थिक उपार्जनमा समेत टेवा पुग्नेछ।’ 

छोराको यो कार्य देखेर खुसी भएका उनका बुबा झिल्लुप्रसाद बस्यालले मूर्ति स्थापना र अन्य भौतिक संरचना निर्माणका लागि तीन रोपनी छ आना जमिन निःशुल्क दिएका छन्। ‘म मर्ने बेला भयो’, झिल्लुप्रसादले भने, ‘छोराको धार्मिक कामप्रति देखिएको चासोले मनमा साह्रै खुसी लागेको छ। सबैले सहयोग गर्नुस्, यो गाउँलाई धार्मिक क्षेत्रको रूपमा विकास गर्नुपर्छ।’ 

यहाँ आगामी माघ २१ गतेदेखि फागुन २ गतेसम्म श्री शिवपुराण तात्त्विक ज्ञान महायज्ञ एवं धार्मिक अनुष्ठान महोत्सव– २०७४ सञ्चालन गर्ने तयारीमा रहेको मूल समितिका संयोजक विष्णुप्रसाद बस्यालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.