|

काठमाडौं : अनामनगरमा रहेको 'टौवा'को अफिसमा पुग्दा विजय बस्याल फिल्म 'शत्रु गते'को पोस्टर डिजाइन गर्दै थिए। छेउमा बसेर विजयले बनाइरहेको पोस्टर हेर्दै सल्लाह दिइरहेका थिए, शान थापा। त्यहाँ बनिरहेको पोस्टरमा दीपाश्री निरौला र हरिवंश आचार्य देखिएका थिए।

अफिसको छेउमा एउटा बोर्ड राखिएको छ। त्यस बोर्डको माथि लेखिएको छ, 'टौवाज प्रोजेक्ट।' त्यहाँ धेरै फिल्मको नाम लेखिएको छ। कुनै फिल्मको नाम पछाडि रातो मसीले 'कम्प्लिटेड' लेखिएको छ भने केही फिल्मको नामको पछाडि खाली छोडिएको छ। किन फिल्मको नाम लेखेर राख्नुभएको? विजयलाई सल्लाह दिइरहेका शानले भने, 'त्यो हामीले पोस्टर बनाएका फिल्महरूको नाम हो। सकिसकेकालाई कप्लिटेड लेखेका छौँ, अरू बाँकी हुन्।' त्यहाँ फिल्मको नाम लेख्दै गरिएको नम्बरिङ ६७ पुगेको छ।

टौवाबाट 'पर्व', 'ए मेरो हजुर २', 'प्रेम गीत २', 'राज्जा रानी', 'रुद्रप्रिया', 'ऐश्वर्य', 'जोनी जेन्टलम्यान'लगातयका पोस्टर बनिसकेका छन् भने 'कृ', 'शत्रु गते', 'ब्लाइन्ड रक्स', 'लिलिबिली'लगायतका फिल्मको पोस्टर बन्दै छन्। विजय भन्छन्, 'अहिले त नेपाली फिल्मको ८० प्रतिशत पोस्टर हामी डिजाइन गर्छौं।'

यसरी सुरु भयो 'टौवा'

विजयको छुट्टै पोस्टर डिजाइनिङ अफिस थियो अनि शानको छुट्टै। विजय मोसन ग्राफिक्स, पोस्टर डिजाइनिङ गर्थे। शान पनि पोस्टर डिजाइनिङमा काम गरिरहेका थिए। एक दिन शानलाई लाग्यो, 'हामी दुई मिलेर काम गर्ने हो भने त राम्रो आउटपुट निस्किन्छ।' त्यहीअनुरुप शानले एक दिन विजयलाई फोन गरे। भने, 'विजय जी, हामी सँगै काम गरौँ। हामी दुई मिलेर काम गर्‍यौँ भने राम्रै होला।' यो कुरा विजयलाई पनि मनासिव लाग्यो, उनी सँगै काम गर्न राजी भए।

सुरुमा शान र विजयको प्रत्यक्ष भेटघाट अनि चिनजान थिएन। शान भन्छन्, 'पहिला उहाँको नाम सुनिरहेको हुन्थेँ। सायद उहाँले पनि मेरो नाम सुन्नुभएको थियो होला। सँगै काम गर्ने भएपछि मात्र हामी प्रत्यक्ष रूपमा भेटेका थियौँ।'

'दुवै जना बसेर सल्लाह गर्यौं', विजय भन्छन्, 'के गर्ने कसरी गर्ने भन्ने विषयमा छलफल भयो अनि काम सुरु गर्ने टुंगोमा पुगियो।'

कसरी जुर्‍यो 'टौवा' नाम?

नाम सुन्दा परम्परागत लाग्छ, टौवा। टौवा नाम राख्नुका पछाडि पनि अर्थ लुकेको छ। शान भन्छन्, 'अबसँगै काम गर्ने भएपछि एउटा कम्पनी बनाएर नै काम सुरु गरौँ न भन्ने भयो। तर नाम के राख्ने भन्ने बढो कन्फ्युजनमा थियौँ।' नाम राख्ने विषयमा धेरै सोचहरू आए। धेरै नामहरू पनि आए तर आएका नामहरू खासै राम्रो लागेन। विजय भन्छन्, 'अब पश्चिमतिरको मैलिक कुराहरूलाई सम्झिन थालेँ। त्यही बेला टौवाको याद आयो। त्यही नाम शानलाई सुनाएँ, आखिर त्यही फाइनल भयो।'

'पोस्टर डिजाइन गर्दा फोटोसपमा काम हुन्छ अनि फोटोसपको सम्पूर्ण काम लेयरमा', विजय भन्छन्, 'हामीले लेयरलाई परालसँग तुलना गर्‍यौँ। यहाँ लेयर लेयर मिलेर पोस्टर तयार हुन्छ भने त्यता पराल पराल मिलेर टौवा। त्यसैले पनि कम्पनीको नाम टौवा राखियो।'

दुवैको पीआरले चम्कियो 'टौवा'

टौवा अफिसियल रूपमा दर्ता भएपछि काम सुरु हुन थाल्यो। शानको आफ्नै जनसम्पर्क (पीआर) थियो अनि विजयको आफ्नै। सुरुका दिनहरूमा पनि खासै दु:ख गर्नुपरेन। फिल्मकर्मीहरू नै पोस्टर डिजाइनका लागि उनीहरू समक्ष आउँथेँ। शान भन्छन्, 'विजयको आफ्नै पीआर अनि मेरो आफ्नै पीआरले गर्दा पनि सुरुका दिनदेखि नै खासै दु:ख गर्नुपरेन।'

टौवाको पहिलो पोस्टरका रूपमा 'वीर विक्रम'को पोस्टर बन्यो। पोस्टरले राम्रै चर्चा पनि पायो। लगातार पोस्टरका कामहरू आउन थाले। विजय भन्छन्, 'सुरुवाती दिनदेखि नै हामीले प्रशंसा नै पाएका थियौँ। जे सोचेर टौवा सुरु गरियो, त्यो पूरा भयो जस्तो लाग्थ्यो।'

फ्लप फिल्मबाट पैसा लिनै गाह्रो

सुरुमा ५० प्रतिशत पैसा लिएर काम सुरु गर्छ, टौवा। कुनै फिल्मबाट त्यही ५० प्रतिशतमा नै चित्त बुझाउनुपर्ने हुन्छ। विजय भन्छन्, 'फिल्म चल्यो भने हामीले पैसा पाउँछौँ, यदि फ्लप भइदियो भने पहिला जति लिएको छ, त्यतिमै सीमित रहनुपर्छ।'

फिल्म हलमा लागेको दिनबाट फोनसमेत उठाउन छोड्छन् निर्माताहरू। विजय भन्छन्, 'उनीहरूको काम त सकियो। हाम्रो त कुनै मतलब हुँदैन उनीहरूलाई।' फिल्मको काम गर्दा दिन रात नभनी काम गर्नुपर्ने बाध्यता बताउँदै कामको पैसा नपाउँदा फ्रस्ट्रेसन हुने विजयले गुनासो गरे।

टौवाबाट अरू पनि काम

शान म्युजिक भिडियो निर्देशक हुन्। उनले धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। उनले निर्देशन गर्ने हरेक म्युजिक भिडियो टौवाबाट नै तयार हुन्छ। शान भन्छन्, 'हामी पोस्टर डिजाइनिङमा मात्र छैनौँ। टौवाबाट म्युजिक भिडियोको पनि निर्माण भइरहेको छ।'

त्यस्तै, विजय मोसन पोस्टरको पनि काम गर्छन्। टौवाबाट धेरै वेवसाइटका लागि लोगोहरू पनि बन्छ। विजय भन्छन्, 'यहाँबाट फिल्मको पोस्टर मात्र नभएर लोगो, मोसन ग्राफिक्सको पनि काम हुन्छ।'

यस्तो छ दुवैको लक्ष्य

'टौवा' पोस्टर डिजाइनमै हुन्छ। आफ्नो कर्म नै पोस्टर डिजाइनिङलाई मानेको छ। शान भन्छन्, 'हामीले पोस्टर डिजाइन गर्छौं भनेर सुरु गरेको टौवा पोस्टर डिजाइनिङ छाडेर अरू काममा जान्छ भन्ने त छँदै छैन बरु यहीँबाट पोस्टरसँगै नयाँ कामको सुरुवात गर्न सकिन्छ।'

शानलाई फिल्म निर्देशक बन्नु छ। उनी त्यसैका लागि लागिरहेका छन्। उनले म्युजिक भिडियो पनि सिकिरहेको बताउँछन्। भन्छन्, 'मेरो लक्ष्य भनेको फिल्म निर्देशन गर्नु हो। अहिले म्युजिक भिडियो निर्देशन गरिरहेको पनि त्यही लक्ष्य प्राप्तिका लागि हो।' शानले फिल्ममा सहायक निर्देशनको काम पनि गरिसकेका छन्। उनले फिल्म 'नोभेम्बर रेन', 'क्लासिक' र 'पर्व'मा सहायक निर्देशक बनेर काम गरिसकेका छन्।

विजयलाई पनि यहीँ बसेर पोस्टर डिजाइन र मोसन ग्राफिक्समा केही नयाँ गर्नु छ। उनी भन्छन्, 'नेपालमै बसेर पोस्टर डिजाइन र मोसन ग्राफिक्समा केही नयाँ गर्दै जानेछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.