|

  • भविश्वर पाण्डे-

कावासोती : पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा  अध्यक्ष र प्रशासकीय अधिकृतले मिलेमतोमा विनयिखोला ठेक्का दिन लागेको भन्दै स्थानीयले गाउँपालिका कार्यालय तोडफोड गरेका छन्। स्थानीयले गाउँपालिका कार्यालयको झ्यालको सिसा फोडेका हुन्। शुक्रबार कार्यालय खोल्नासाथ स्थानीयले ढुंगामुढा हानेर ३ वटा झ्यालको सिसा फुटाएका हुन्।

गाउँपालिकाले गत मंसिर १९ गते एक सूचना प्रकाशित गरेर विनयी खोलाको विभिन्न ६ खण्डलाई विभाजन गरेर टेन्डर आह्वान गरेको थियो। सबै गरेर एक करोड २४ लाखमा ३७ हजार ६ सय ५२ रुपौयाँ न्यूनतम मूल्य राखेर  टेन्डर  आह्वान गरिएको टेन्डर फर्म १२३ वटा बिक्री भएको थियो। खोला जन्य पर्दाथको परिणाम ३१ लाख ७ हजार ८ सय ६८ घनफिट रहेको थियो। टेण्डर बुझाउने म्याद माघ १९ गते दिउँसो १२ बजेसम्मको समय तोकिएको थियो।

गाउँपालिकाले खोलेको टेन्डर चितवन भरतपुरका मुसे भनिने वचन कार्कीको हिरोज कन्सट्रक्सनले बिहीबार नै बुझाएका थिए। स्थानीयले स्थानीय खोला आफूहरुले संरक्षण गरेकोले टेन्डर पनि स्थानीयले मात्रै हाल्न पाउनुपर्ने माग राखेका थिए।

यसमा बिहीबार गाउँपालिका अध्यक्षले उक्त चितवन भरतपुरका मुसे भनिने वचन कार्कीको हिरोज कन्सट्रक्सनले हालेको फर्म झिक्न लगाई स्थानीयलाई नै टेन्डर हाल्न दिने वचन दिएको तर पछि रकममा मिलेमतो गर्दै गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतले चितवनका व्यक्तिहरुलाई ठेक्का दिन लागेको भन्दै झ्यालको सिसा फुटाएको एक स्थानीय युवाले बताए। यता, जिल्ला बाहिरको व्यक्तिले टेन्डर हालेको र आपूmहरुले एक्लौटी गर्न नपाएको भन्दै स्थानियले कार्यालय तोडफोड गरेको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले बताए।

जिसीले कानुन हातमा लिन खोज्ने कार्य दुर्भाग्यपूर्ण भएको बताए। उनले गाउँपालिकाले आह्वान गरेको टेन्डर सबैले हाल्न पाउने  अधिकार भएको प्रतिक्रिया दिए। नारा जुलुस गर्दै पुगेको स्थानीयहरुको एक समूहले दादागिरी देखाएर कार्यालय तोडफोड गरेको हो।

विनयी त्रिवेणी गाउँपालिकाका स्थानीय केही युवाले मिलोमतोमा टेन्डर हाल्न नपाएको भन्दै तोडफोड गरेको प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए। तोडफोड भएपछि गाउँपालिकाको आकस्मिक बैठक बसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.