|

काठमाडौं : प्रदेशसभा बैठक बस्नका लागि मिति तय भएसँगै नेकपा माओवादी केन्द्रभित्र प्रदेशसभाको संसदीय दलको नेता कसलाई बनाउने भन्ने बहस चल्दै गएको छ। संसदीय दलको नेता चयन, एमालेसँगको सहकार्यमा आफ्नो दलले पाएको मुख्यमन्त्री, प्रदेशको सभामुख छनोटलगायत विषयमा माओवादीका शीर्ष नेता कसरतमा जुटेका छन्।

सात प्रदेशमध्ये प्रदेश- ३ बाहेक अन्य प्रदेशमा माओवादीबाट संसदीय दलको नेता चयन हुनसकेको छैन। प्रदेशमा रहेका सांसदको प्रतिनिधित्व गर्ने भएका कारण संसदीय दलको नेता वरिष्ठताको आधारमा चयन हुने माओवादीले जनाएको छ। माओवादीले एमालेसँगको सहकार्यमा प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाएको छ भने प्रदेश ४ र ५ मा सभामुख माओवादीको भागमा परेको छ।

अन्य प्रदेशमा भने माओवादीले एमालेलाई मुख्यमन्त्री र सभामुखममा सहयोग गर्ने भएको छ। प्रदेश सरकारमा भने एमालेले ७० प्रतिशत र माओवादीले ३० प्रतिशत लिने गरी समझदारी भएको छ। संसदीय दलको नेता बन्नका लागि प्रदेश– १ मा तीन जनाले आकांक्षा देखाएका छन्। मुख्यमन्त्रीका लागि तप्लेजुङ ‘ख’बाट निर्वाचित टंक आङबुहाङ, पाँचथर प्रदेशसभा ‘ख’बाट निर्वाचित ईन्द्रबहादुर आङ्वो र झापा- ४ को प्रदेशसभा ‘क’बाट निर्वाचित झलकबहादुर मगरले आकांक्षा देखाएका छन्।

आङ्बुहाङ माओवादी केन्द्रका सचिवालय सदस्य आङ्बुहाङ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्रसमेत मानिन्छन्। उनी नेपाल क्रिकेट संघका पूर्व अध्यक्षसमेत हुन्। यस्तै, आङ्बो पनि माओवादी केन्द्रका युवा नेता हुन्। उनी माओवादी केन्द्रका सचिवालय सदस्य हुन्। उनी आफू पार्टीभित्र सिनियर भएका कारण संसदीय दलको नेता हुनुपर्ने माग गर्दै आएका छन्।

यस्तै, पार्टीका पोलिटब्युरो सदस्य झलकबहादुर मगरले पनि आफू प्रदेश– १ को संसदीय दलको नेता हुनुपर्ने दाबी गर्दै आएका छन्।

प्रदेश– १ मा धेरैजसो वरिष्ठ भएकाले संसदीय दलको नेतामा दाबी गर्नु सामान्य भएको माओवादी केन्द्रका प्रदेश– १ इञ्चार्ज सवित्रिकुमार काफ्ले बताउँछन्। ‘प्रदेश– १ मा धेरै सिनियर नेताहरू प्रदेशसभा सदस्यका लागि विजयी हुनुभएको छ’, उनले भने, ‘यहाँ हामीले मुख्यमन्त्री र सभामुख नपाउने भएपछि संसदीय दलको नेतामा आकांक्षा राख्नु स्वाभाविक हो। हामी केही दिनभित्रमा मिलाउनेछौँ।’

यस्तै, प्रदेश– २ मा पनि संसदीय दलको नेताका लागि दुई जनाले आकांक्षा राखेका छन्। संसदीय दलको नेताका लागि धनुषा– १ को ‘ख’बाट निर्वाचित रामचन्द्र मण्डल र महोत्तरी- १ ‘ख’बाट निर्वाचित भरतप्रसाद साहले संसदीय दलको नेताका लागि दाबी गर्दै आएका छन्। पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका मण्डल यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सभासद बनेका थिए।

यस्तै पार्टीका सचिवालय सदस्य साह आफू पार्टीको सिनियर भएकाले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन्।

प्रदेश– ३ मा भने माओवादीले संसदीय दलको नेता चयन गरिसकेको छ। माओवादीका तर्फबाट प्रदेश– ३ को संसदीय दलको नेतामा धादिङ- १ ‘ख’बाट निर्वाचित शालिकराम जम्कटेल चयन भएका छन्।

प्रदेश- ४ मा भने माओवादीले एमालेसँगको भागबन्डामा प्रदेशको सभामुख पाएको छ। यस प्रदेशमा तनहुँ- २ ‘क’बाट निर्वाचित पूर्व मन्त्री आशा कोइराला र गोरखा- १ को ‘क’बाट निर्वाचित लेखबहादुर थापा मगरले सभामुखमा दाबी गर्दै आएका छन्। यी दुईमध्ये एक जना संसदीय दलको नेता बन्ने र अर्का सभामुख बन्ने माओवादी स्रोतले बताएको छ।

यस्तै, प्रदेश– ६ मा पनि माओवादीको भागमा सभामुख परेको छ। यस प्रदेशमा सभामुखमा दुई जनाले दाबी गर्दै आएका छन्। पार्टीका कार्यालय सदस्य कुलप्रसाद केसी र पूर्णबहादुर घर्तीमगरले मुख्यमन्त्रीमा आकांक्षा राख्दै आएका छन्। यी दुईमध्ये एक संसदीय दलको नेता र एक सभामुख बन्ने माओवादीले जनाएको छ।

प्रदेश– ७ मा भने माओवादीको भागमा मुख्यमन्त्री परेको छ। यस प्रदेशमा मुख्यमन्त्रीका लागि पार्टीका नेता महेन्द्रहादुर शाही र नरेश भण्डारीले आकांक्षा राखेका छन्। संसदीय दलको नेता पनि जो मुख्यमन्त्री हुन्छ, त्यही हुने भएकाले यी दुईमध्ये एक जना मुख्यमन्त्री र संसदीय दलको नेता बन्ने पक्का छ। 

प्रदेश– ७ मा भने मुख्यमन्त्रीमा त्रिलोचन भट्टलाई माओवादीले अघि सार्ने भएको छ। उनी नै माओवादीको तर्फबाट प्रदेश– ७ को संसदीय दलको नेता बन्ने पक्का जसतै छ। यसअघि यस प्रदेशमा मुख्यमन्त्रीका रूपमा वीरमान चौधरी र मानबहादुर धामीको नाम चर्चामा थियो। तर पार्टी प्रदेश- ७ को बैठकले भने भट्टलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन सिफारिस गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.