|

  • पेमा लामा

काभ्रेपलाञ्चोक : रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रले मासिक करिव १५ लाख रुपैयाँको कारोबार गरिरेहको छ। केन्द्रबाट दैनिक करिव १२० केजी पनिर, ८० केजी चिज र १९ केजी मखन उत्पादन गर्दै आएको छ।

०२७मा स्थापना भएको सरकारी स्वामित्वको उक्त केन्द्रले भिमखोरीको कातारचे, केरावारी, पौवा, सोरे, रामभेडा र छिमेकी जिल्ला सिन्धुलीका केही स्थानहरुबाट दूध संकलन गर्दै आएको छ। केन्द्रमा दैनिक रुपमा करिव साढे सात सय लिटर दूध जम्मा हुने गरेको केन्द्रका प्रमुख अवोधकुमार झाले जानकारी दिए।

केन्द्रमा उत्पादित सामग्री काठमाडौंस्थित दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय लगेर बिक्री गर्दै आएको केन्द्रका प्रमुख झाले बताए। ‘यहाँ उत्पादित दूग्धजन्य पदार्थ भकुण्डेमा लगेर कटिङ गरिन्छ,’ उनले भने, ‘त्यसपछि काठमाडौंको लैनचौरमा लगेर बिक्री गरिन्छ।’

११ रोपनी जग्गामा फैलिएको उक्त केन्द्रमा ६ वटा भवन रहेका छन्।  केन्द्र ०५० देखि ०६५ सम्म १५ वर्ष बन्द भएकाले ती भवनहरू जीर्ण हुँदै गएका छन्। भौतिक संरचनाको मर्मत सम्भारका लागि केन्द्रीय कार्यालयलाई बजेटको मागे पनि उपलब्ध नभएको केन्द्रका प्रमुख झाले बताए। 

आम्दानीको स्रोत बन्यो

भिमखोरीमा यातायातको साधन नचल्ने भएपछि त्यस भेगमा उत्पादित दूध सहकारी संस्थाहरूले संकलनका लागि ठाउँ–ठाउँमा जम्मा गरी भरिया र खच्चडको सहयताबाट केन्द्रमा ल्याइने गरिन्छ।

यसरी दूध ओपारअपार गर्दा स्थानीयवासीको आयआर्जन पनि बढेको छ। ‘कातारचेबाट दूध ओसार्छौं, त्यसबापत मासिक २ हजार ४० रुपैयाँ पाउँछौं।’ बसुमाया बलले भनिन्, ‘यसरी कमाएको पैसाले छोराछोरीलाई पढाउने र घर खर्च चलाउन पुगेको छ।’

स्थानीय लक्ष्मी श्रेष्ठले पनि दूध ओसार्दा पाएको ज्यालाले घर खर्च चलाउन ठूलो सहयोग पुगेको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.