|
फाइल फोटो

भक्तपुर : चाँगुनारायण नगरपालिका-७, बागेश्वरीमा मान्छे नबसेको एक घरमा चितुवाले बच्चा जन्माएर हुर्काउने गरिरहेको छ। बागेश्वरीस्थित गोकर्ण अधिकारीको मानिस घरमा चितुवाले पाँच दिनअघि तीनवटा बच्चा जन्माएर त्यहीँ हुकाउँदै आएको हो।

चितुवाले मान्छे नबसेको उक्त घरमा बच्चा जन्माएर हुकाउँदै गरेको जानकारी पाएपछि जिल्ला वन कार्यालय भक्तपुरले चितुवाको गतिविधिको अध्ययन थालेको जिल्ला वन अधिकृत फणिन्द्र पोखरेलले बताए। चितुवाका तीनवटा बच्चामध्ये एउटाको मृत्यु भइसकेको जिल्ला वन अधिकृत फणिन्द्र पोखरेलले जानकारी दिए।

‘माउले राति राति बच्चालाई आहार खुवाउने गरेको पाइएकाले अहिले क्यामेरा राखेर चितुवाको गतिविधि ट्रयापिङ गर्ने कार्य भइरहेको छ’, वन अधिकृत पोखरेलले भने, ‘माउ चितुवाले बच्चालाई कुन समयमा कस्तो आहारा ल्याएर खुवाउँछ भन्ने अध्ययन भइरहेको छ। हाम्रो क्यामेराले केही फोटोहरु खिचेको छ त्यसलाई धुलाएर अध्ययन गर्ने तयारी भइरहेको छ।’

मरेको बच्चालाई आजभोलि नै खाल्डो खनेर गाड्ने र जीवित रहेको दुई बच्चालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको उनले बताए। मानवबस्तीदेखि केही टाढाको दूरीमा भएकाले चितुवाले मानिसलाई आक्रमण गर्ने वा कुनै प्रकारको हानि नोक्सानी गर्न सक्ने अवस्था नरहेको पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.