|

काठमाडौं :एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया लम्बिने भएको छ। पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिएको हो।

नयाँ सरकार गठनपछिमात्र पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने एमालेका एक नेताले बताए। ‘राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभा सरकार गठनसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा लाग्नुपर्ने भएकाले दुवै दलको ध्यान अब सरकार गठनमा केन्द्रित हुन्छ’, ती नेताले भने।

निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादीका बीचमा पटक–पटक छलफल भए पनि सहमतिको टुंगो लाग्न सकेको छैन। माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै एकता गर्नुपर्ने बताउँदै आए पनि एमालले सरकार गठन र पार्र्टी एकता प्रक्रिया एकसाथअगाडि बढाउने नीतिमा रहेको छ।

सरकार गठनअघि नै पार्टी एकता गर्न माओवादीले दबाब दिए पनि एमालेले पर्ख र हेरको रणनीति लिएको छ। ओली र दाहालबीच नै पद बाँडफाँडमा कुरा मिल्न नसकेपछि पार्टी एकताको प्रक्रिया अगाडि बढ्न नसकेको हो। राष्ट्रियसभा सदस्य र प्रदेशसभाको मुख्यमन्त्री, सभामुखमा पद बाँडफाँड गर्नका लागि कार्यदल गठनमार्फत टुंगो लगाए पनि पार्टी एकताका गर्ने भनिएको वैचारिक सैद्धान्तिक र संगठनात्मक दुई कार्यदल गठन हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.