|
फाइल तस्बिर

दाङ : नेकपा माओवादीका नेता कृष्णबहादुर महराले देशमा देउवा सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लब दाङले दाङको तुलसीपुरको टरिगाउँ एयरपोर्टमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा दाङ प्रतिनिधिसभा– २ बाट निर्वाचित सांसदसमेत रहेका महराले सरकारमा राजनीतिक नैतिकतासमेत नदेखिएको भन्दै देउवा सरकारले देशमा राजनीतिक अराजकता बढाएको आरोप लगाएका हुन्। देउवा सरकारले गरेका कतिपय निर्णयहरूलाई अब बन्ने सरकारले उल्टाउन सक्ने उनको भनाइ थियो।

उक्त कार्यक्रममा पार्टी एकता कहिले हुन्छ भन्ने पत्रकारहरूको प्रश्नमा दुई दल भनेका फरक दृष्टिकोण, फरक मान्यता बोकेका दल भएकाले पार्टी एकता भन्ने कुरा भनेजस्तो सजिलो नभएको र दुई पार्टीका अध्यक्षबीच व्यापक छलफलसमेत भइराखेकाले एकतामा केही ढिला भएको महराले बताए। 

नयाँ सरकारले टरीगाउँ एयरपोर्टलाई थप विस्तार गरी ठूलो जहाज सञ्चालनमा ल्याउने र एयरपोर्टमा जहाज उडानलाई नियमित बनाउनेसमेत महराले बताए। प्रदेश राजधानीहरूको अस्थायी केन्द्र तोक्दा धोका भएको भन्दै अब राजधानी बनाउने जिम्मा प्रदेशसभालाई भएको र प्रदेशसभाका सांसदहरूले स्थायी राजधानी तोक्दा न्यायोचित, सन्तुलित एवम् जिम्मेवारीपूर्वक निर्णय गर्ने उनको भनाइ थियो। त्यसपछि प्रदेश– ५ को स्थायी राजधानी दाङ नै हुने उनले बताए।

दाङ प्रदेश राजधानी बनाउने विषयमा कांग्रेस नेता खुमबहादुर खड्कासँग समेत छलफल भएको स्वीकार गर्दै नेता महराले यस विषयमा अन्य नेताहरूसँग समेत छलफल भइरहेको जानकारी दिए।

हाल राष्ट्रियसभाको चुनावमा केन्द्रित भएको बताउँदै महराले प्रदेशसभाको चुनावलगतै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने प्रस्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.