|

रुपन्देही : सुत्केरी हुन अस्पताल आएकी महिलाको मृत्यु भएपछि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा तनाव भएको छ।

अस्पतालमा कार्यरत नर्सहरुले स्लाइनमार्फत गलत औषधि दिएका कारण गर्भवतीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका हुन्।

बुटवलको अमरपथमा बस्दै आएकी पाल्पा झडेवाकी ३२ वर्षिया भगवती अधिकारी आइतबार साथीसँग रिक्सा चढेर अस्पताल पुगेकी थिइन्।

बच्चा जन्मिनका लागि वेथा लागेजस्तो भएपछि उनी अस्पताल पुगेको र अस्पताल पुग्नासाथ स्लाइन चढाइएपछि अचेत बनेको उनका दाइ मोति खनालले बताए। उनको आइतबार ११ बजे मृत्यु भएको थियो।

माघ २५ गते बच्चा जन्मिने मिति चिकित्सकले दिएका थिए। गर्भवतीको मृत्यु भएपछि चिकित्सकहरुले फरक–फरक कारण बताएपछि आफन्तहरु आन्दोलित भएका हुन्। घटनालगत्तै चिकित्सकले हृदयघातका कारण मृत्यु भएको बताएका थिए। पछि भने बच्चा रहने पानीको फोका फुटेर फोक्सोमा जादा मृत्यु भएको चिकित्सकको दाबी छ।

लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण खनालले घटनाको छानबिन गरिने बताए। घटनाको समिति बनाएर छानबिन हुने र अस्पतालको लापरबाही भए क्षतिपूर्ति दिने उनले बताए।

भगवतीका श्रीमान् पशुपति अधिकारीले चिकित्सकले गलत औषधि चढाएकै कारण श्रीमतीको मृत्यु भएको बताए।

उनका अनुसार अञ्चल अस्पतालले आइतबार राति मात्रै भगवतीलाई दिइएको औषधिको बिल देखाएका थिए। सो बिल साटेको आफन्तले बताएका छन्। भगवतीका ७ वर्षिया एक छोरा छन्।

सिलाई व्यवसाय गर्दै आएकी उनका श्रीमान् बजार व्यवस्थापनको काम गर्छन्।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.