काठमाडौं : संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा २४ उम्मेदवार आज मतदान हुनुअघि नै निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रियसभामा ५९ सदस्य रहने व्यवस्था छ।
यसअनुसार प्रत्येक प्रदेशबाट ८ जना निर्वाचित हुने र ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले ५६ जना राष्ट्रियसभा सदस्य प्रदेशबाट निर्वाचित गर्नुपर्ने भए पनि २४ जना निर्विरोध निर्वाचित भएकाले आज (बुधबार) ३२ सिटका लागि मात्र मतदान भएको हो।
राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेका ९ जना, कांग्रेसका ८ जना, माओवादी केन्द्रका ३ जना, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट २/२ जना निर्विरोध निर्वाचित भइसकेका छन्।
एमालेबाट निर्विरोध निर्वाचित ९ उम्मेदवार
भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ठूलो दल बनेको नेकपा एमालेबाट राष्ट्रियसभामा प्रदेश १ बाट परशुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी, नैनकला ओझा, प्रदेश २ बाट सुमनराज प्याकुरेल, प्रदेश ५ बाट कोमल वली र मीना बुढा, प्रदेश ७ बाट शेरबहादुर कुँवर, इन्दु कडरिया र कमलाकुमारी ओली निर्विरोध निर्वाचित भएका छन्।
कांग्रेसबाट निर्विरोध निर्वाचित ८ उम्मेदवार
यसरी नै नेपाली कांग्रेसबाट राष्ट्रियसभामा प्रदेश १ बाट सरिता प्रसाईं र रमेशजंग रायामाझी, प्रदेश २ बाट जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव, प्रदेश ४ बाट प्रकाश पन्थ, प्रदेश ५ बाट अनिता देवकोटा, प्रदेश ७ बाट बद्रीप्रसाद पाण्डे र तारादेवी भट्ट निर्विरोध निर्वाचित भएका छन्।
माओवादी केन्द्रबाट निर्विरोध निर्वाचित ३ उम्मेदवार
नेकपा माअोवादी केन्द्रबाट प्रदेश १ बाट विना पोखरेल, प्रदेश २ बाट शशिकला दाहाल र प्रदेश ७ बाट हरिराम चौधरी निर्विरोध निर्वाचित भएका छन्।
संघीय समाजवादी फोरमबाट निर्विरोध निर्वाचित २ उम्मेदवार
संघीय समाजवादी फोरमबाट प्रदेश २ बाट मोहम्मद अख्तर हुसैन र रामप्रीत पासवान निर्विरोध निर्वाचित भएका छन्।
राजपाबाट निर्विरोध निर्वाचित २ उम्मेदवार
वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव राजपाबाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।