|

इलाम  ः तस्वीरमा देखिएका व्यक्ति हुन्, दोर्जे तामाङ। ४० वर्षयता उनको जीवन छेवैमा बगेको माइखोलाकै किनारमा बालुवा खेलाउँदै बित्यो। माइखोलाको पानी जसरी उनको उमेर पनि सँगसँगै बगिरहेको छ। 

२०३४ सालमा धनकुटाबाट इलाम आएका उनी पछिल्लो  २० वर्षयता धनकुटा गएकै छैनन्।

आराम गरेरै बिताउने समयमा पनि दोर्जेको दैनिकी गिट्टी र बालुवा खेलाउनमै बित्छ। मेची राजमार्ग छेवैमा माइखोलाको किनारमा खोलाले बगाएर ल्याएको बालुवा मुस्किलले एक ट्र्याक्टर बनाउँदा १ हजार २०० रुपैयाँ पाउँछन् उनी। एक ट्र्याक्टर बालुवा भेला पार्न उनलाई झन्डै २० दिन लाग्छ। त्यही १ हजार २०० रुपैयाँ कमाउन दिनभरको श्रम बेच्ने उनलाई काम गर्दागर्दै दिन र रात पनि थाहा हुँदैन। बर्खामा भेल र बाढीले उनको यही पेसा पनि धरापमा पर्छ। बर्खामा खाएको पनि हिउँदकै कमाइले धान्नुपर्ने उनको भनाइ छ। 

विवाह गरे पनि सन्तान नभई श्रीमतीको मृत्यु भएपछि अर्की श्रीमती भित्र्याउने आँट गरेनन् दोर्जेले। मरेपछि गरिने मृत्यु संस्कारको त कुरै छाडौँ, जीवितै रहँदा सामान्य बिरामी हुँदासमेत तातो पानी तताएर दिने सहारासम्म छैन उनको।  पाको शरीर, चाउरी पर्दै गएको छाला, तागत सकिँदै गएर होला काम गर्दै गर्दा पनि हात गोडा थर्थर काँपिरहेका हुन्छन् उनका। 

सरकारले ७० वर्ष उमेर पार गरेका मानिसलाई वृद्धभत्ता उपलब्ध गराउने गरेको छ। तर उनी ७७ वर्ष पुग्दासम्म वृद्धभत्ता त के आफन्तको ठेगाना नभएपछि नेपालको नागरिकतासम्म पाएका छैनन्। 

पुर्ख्यौली घर धनकुटा भएका उनी धनकुटामा रहेका पुर्खाहरू पनि कहाँ छन् आफूलाई जानकारी नभएको बताउँछन्। जिल्ला प्रशासन कार्यालय इलाममा नागरिकता बनाउन जाँदा धनकुटा नै गएर बनाउनु भन्ने जवाफ आएपछि आफन्तको ठेगाना पनि नभएकाले नागरिकता नै बनाउन नसकेको उनले गुनासो पोखे। खोलाकै छेउमा परालले बारेको अनि कर्कटपाता बाँधेर छानो अड्याएको छाप्रो हालेर बसेका उनको चिसो रात खोलाको स्याँठसँगै बित्ने गरेको छ।

माघको जाडोमा पनि ढोका नै नभएको छाप्रोमा जीविकोपार्जन गरिरहेका उनी पकाएर खाने सन्तुलित भोजनको त कल्पना नगरौँ, बिहान पेटभर खाए बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा हुन्छन्। 

छाप्रोकै छेउमा पकाएर खाने ठाउँ छ उनको। त्यो पनि सामान्य हावाहुरी आए उडाएर लैजान्छ। भत्किएको गोठ पनि काठ र बाँसको टेको दिएर अडिएको छ।   
निजामती कर्मचारी वा शिक्षकको जागिर भइदिएको भए उमेरको हदबन्दी लाग्ने उमेर पार गरिसके दोर्जेले। तर सरकारले उपलब्ध गराउने वृद्धभत्ता नै पाएका छैनन्। जनप्रतिनिधि चुनिए, गाउँगाउँमा सिंहदरबार पुगेको बताउने सरकारले यस्ता व्यक्तिको उद्धार त के खोजीसम्म गरेको छैन। 

दोर्जेको छाप्रोबाट २०० मिटर नजिकै माई भगवती वृद्धाश्रम छ तर उनी अहिलेसम्म वृद्धाश्रम गएका पनि छैनन् र कसैले लाने प्रयाससमेत गरेका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.