डोटी : राष्ट्रियसभाका सदस्यका लागि प्रदेश ७ मा भएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार महेशकुमार महरा र चक्रप्रसाद स्नेही विजयी भएका हुन्।
अपाङ्ग तथा अल्पसंख्यकतर्फ माओवादी उम्मेदवार महरा ३ हजार ७०८ मतसहित विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका छत्रराज जोशीले १ हजार ९०८ मत प्राप्त गरे।
दलिततर्फ नेकपा एमालेका चक्रप्रसाद स्नेही ३ हजार ७०८ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका शेरीराम पार्कीले १ हजार ८९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए।
प्रदेशसभाका सांसद, स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख मतदाता रहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा १ भोट भने बदर भयो। गाउँपालिकामा निर्वाचित प्रतिनिधिको १ मत बदर भएको हो। दुवै ठाउँमा मत संकेत गरेका कारण मत बदर भएको निर्वाचन अधिकृत पनेरुले बताए।
यस प्रदेशबाट निर्वाचित हुने ८ जना राष्ट्रियसभा सदस्यमध्ये ७ जनालाई बुधबार नै प्रमाणपत्र हस्तान्तरण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। माओवादीबाट निर्वाचित हरीराम चौधरीले मात्र प्रमाणपत्र बुझ्न बाँकी रहेको छ।
यी हुन् निर्विरोध निर्वाचित ६ जना
प्रदेश ७ बाट ६ जना राष्ट्रियसभाका लागि निर्विरोध चयन भइसकेका छन्। राष्ट्रियसभा सदस्यमा अन्य समूह नेपाली कांग्रेसका तर्फबाट बद्रीप्रसाद पाण्डे, नेकपा एमालेबाट शेरबहादुर कुँवर र नेकपा माओवादी केन्द्रबाट हरिराम चौधरी निर्विरोध निर्वाचित भएका हुन्। महिलाबाट नेपाली कांग्रेसकी तारादेवी भट्ट, नेकपा एमालेबाट कमलाकुमारी ओली र इन्दु कडरिया निर्वाचित भएका छन्।
९९ प्रतिशत मतदान
राष्ट्रियसभा सदस्यका लागि प्रदेश ७ मा भएको निर्वाचनमा ९९ प्रतिशत मतदान सम्पन्न भएको छ। स्थानीय तहका प्रमुख तथा उपप्रमुखले शत प्रतिशत मतदान गरेका छन् भने प्रदेशसभाका ५१ जनाले मतदान गरेका छन्। यस प्रदेशमा स्थानीय तहका १७६ र प्रदेशसभाका सदस्य ५३ जना गरी २२९ जना मतदाता रहेका थिए।
राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर- १ बाट निर्वाचित दुई जना सांसदले भने मतदान गरेनन्।
भोट नमागेकाले भोट हालेनौँ : राजपा सांसद
बुघबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टीका सांसदले मतदान गरेनन्। राजपाका कैलाली क्षेत्र नम्बर- १ ‘क’ बाट निर्वाचित प्रदेशसभा सांसद कृष्णकुमार चौधरी र मालती राना थारूले मतदान गरेनन्। राजपाका २ जना सांसदले भने मदतान नगरेको सांसद मालती राना थारूले बताइन्। थारूले भनिन्, ‘हाम्रो उम्मेदवार पनि थिएन, कुनै दलले भोट पनि मागेनन्, त्यसैले मतदान गरेनौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।