|

कुनै पनि घर परिवारको अभिभावक गैरजिम्मेवार भयो वा उ आफ्नो परिवारका सदस्यहरु प्रति जवाफदेही र उत्तरदायी बन्न सकेन या चाहेन भने त्यो घर परिवारको कस्तो दशा वा अवस्था होला? कुनैपनि राष्ट्रको हकमा पनि त्यही कुरा लागू हुन्छ, जुन घरपरिवारको हकमा हुन्छ।

नेपाल, संसारका त्यस्ता अभागी देशहरु मध्ये  एक हो, जसले अपवादबाहेक कहिल्यैपनि असल अभिभावक पाएन। राजा पृथ्वीनारायण शाहले प्रारम्भ गरेको राष्ट्र एकीकरण अभियानलाई अघि बढाएपनि उनका उत्तराधिकारीहरु देश र जनताप्रति कहिल्यै संवेदनशील र जिम्मेवार भएनन्। आफ्नो क्षुद्र स्वार्थको घेराभन्दा बाहिर कुनै पनि राजाहरु निस्कन सकेनन्। एकीकरण पश्चातका सयौं वर्षराजा र राणाहरुको मनपरितन्त्रको फोहोरमा बस्न नेपाली जनता बाध्य भए। विभेद, शोषण, अन्याय र अत्याचारको अकल्पनीय त्रासदीमा बाँच्न विवश भए। आफूलाई देवताको तथाकथित अवतार ठान्ने तत्कालीन शासकहरुको घृणित क्रियाकलापको शिकार र पाशविक व्यवहारबाट आजित भएका नेपाली जनताले २००७ सालको जनक्रान्तिमार्फत मुक्तिको सास फेर्ने प्रयास गरे।

त्यो ऐतिहासिक क्रान्तिका नायक वीपी कोइरालालाई आफ्नो मुक्तिदाता ठाने। वीपीले नेपाल र नेपालीको दुःख र दर्दलाई राम्रोसँग बुझेका थिए। १५ वर्षभित्र सबै नेपालीलाई आफ्नो परिवारको आर्थिक जीवनस्तरमा पुर्‍याउने वीपीको संकल्पलाई सामन्तवादी चिन्तन बोकेका पुरानो शासनका हिमायती जनविरोधी शक्तिहरुलेे सार्थक हुन दिएनन्। जननिर्वाचित सरकारको नेतृत्व गरेको छोटो अवधिमा नै सत्ताच्यूत हुनुपर्‍यो। सत्ताच्यूत मात्र होइन तत्कालीन राजा महेन्द्रले वीपीलाई झ्यालखानामा हाले। यो भन्दा चरम बिडम्बना के हुन्छ? वीपी भन्दा पूर्व र वीपी पश्चात नेपाल र नेपालीले त्यो स्तरको राजनेता पाउन सकेनन् र आज हामी नेपालीले राजनीतिमा अकल्पनीय बिडम्बना झेलिरहेका छौं।

२०४६ सालमा प्राप्त प्रजातन्त्र र २०६३ सालमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र फगत नारामा सफल भएपनि व्यवहारमा त्यसको कुनै प्रतिफल प्राप्त हुन सकेको छैन। व्यवस्था फेरिएपनि जनताको मुहार फेरिएको छैन। बदलामा नेताका मुहार फेरिए। सडकमा हिड्ने नेताहरु अट्टालिकामा पुगे, जनताको दुर्दशा झन् बढ्यो। गरिब जनताको जीवनस्तरमा कुनै सुधार भएन। आँकडा र तथ्याङ्कले जनताको जीवन बदलिदैनथ्यो। नेताको दृष्टी र कर्म आफ्नो सुखमा मात्र केन्द्रीत भयो। दुईचार दर्जन नेताहरूको वर्ग रुपान्तरण भयो। जनताको दुःख अत्यासलाग्दो रुपमा बढेर गयो। नेपाली जनताले विवेकशील राज्य र कर्तव्यनिष्ठ नेता पाउन सकेनन्।

सरकार भन्नाले राज्यको त्यस्तो संयन्त्र हो, जसले राज्यले अबलम्बन गरेका नीतिहरु कार्यान्वयन गर्छ, गराउँछ, जनताको सुरक्षाको प्रत्याभूति दिन्छ र आफ्ना नागरिकहरुको कहाँ बस्छन्, के खान्छन् र कति सुरक्षित छन् भन्ने कुराको हेक्का राख्छ। यो कुनै विश्वविख्यात राजनीतिशास्त्रीले दिएको सरकारको परिभाषामा होइन। यो त सबैले बुझ्ने भाषामा सरकार के हो भन्ने कुरा हो।

के आजसम्म नेपालमा बनेका सरकारहरुले यस्तो कुरा बुझे वा आफ्नो दायित्व बुझे त- सोझो र सामान्य उत्तर हुन्छ, विल्कुल बुझेनन्। संसारका विभिन्न मुलुकहरुमा चलेका सरकारहरू मध्ये नेपालका सरकारहरू अनुत्तरदायी र गैरजिम्मेवार सरकारका जीवन्त दृष्टान्त हुन सक्छन्। जसले जनताका नाममा आफूलाई त उभ्याए तर जतिदिन काम गरे, जनताको हुर्मत लिए। जनताको सानो भन्दा सानो दुःखमा सहभागी हुन नसक्ने सरकारलाई कस्तो उपाधि दिने- यहि सिलसिलाको पछिल्लो कडिको रुपमा अघि बढ्ने छाँटकाँट देखाउदैछ वर्तमान सरकार पनि।

गठन भएको एक महिना व्यतित भइसक्दा पनि यसले देखाएका लक्षणहरु साँच्चै निराशाजनक छन्। बिहानीले दिउँसोको संकेत गर्छ भने झैं यसले दिने परिणामका लक्षणहरू देखिन केहि समय लाग्ला तर आभास भने हुन थालिसकेको छ। प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका कामकारवाहीहरुले उत्साहजनक भविश्यको संकेत गर्दैनन्। जुन सरकारका मन्त्रीहरु भन्दा मताहतका राज्यमन्त्रीहरु सरकारी आवास हडपेर बस्छन् र आफ्ना हाकिमहरु मुकदर्शक बन्न बाध्य हुन्छन्, त्यहाँ वा त्यो देशमा अनुशासन, नैतिकता र विधि व्यवस्था कसरी लागू होला? जुन देशको प्रधानमन्त्रीका अगाडि दुई दलका नेता निम्नस्तरको बाँझबाँझ गर्छन्, अरु नेता रमिते बन्छन्, त्यहाँ कस्तो समझदारी बन्ला? जुन देशका ठूला पार्टीका नेताहरु आफ्नो प्रमुख कर्तव्य बिर्सेर विदेशमा बढि समय बिताउँछन्, त्यो देशको भविश्य कस्तो होला? 

संसारमा चलेका प्रजातान्त्रिक व्यवस्थामा स्थापित भएको गठबन्धन संस्कृतिको एउटा निश्चित मापदण्ड हुन्छ। त्यसको निश्चित सिमा हुन्छ र आचारसंहिता हुन्छ, दायरा र मार्गचित्र हुन्छ। प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकारको मार्गचित्र के? नौ महिनाको आयु निर्धारणबाहेक यस अवधिभित्र सम्पादन गरिसक्नुपर्ने कामहरुको विवरण के? एउटा सामान्य घर चलाउन समेत घोषित/ अघोषित नियमको प्रबन्ध हुन्छ र गरिन्छ। झण्डै तीन करोड नेपाली बसोबास गर्ने राष्ट्र नेपाल चलाउने ढंग र तरिका यहि हो त? सरकार गम्भिर  हुने कहिलेबाट हो?

संसारका उत्कृष्ट प्रजातान्त्रीक सरकारहरुले आफ्ना जन्मदाता अर्थात् देशका नागरिकहरुप्रति गम्भिर उत्तरदायीत्व महशुस गर्दछन् र आफ्ना सबै कामहरु देश र जनतालाई केन्द्रीत बनाएर सम्पन्न गर्छन्। नेपाल र नेपालजस्ता पिछडिएका मुलुकको बिडम्बना के हो भने चुनाव जित्नु अघि गरिएका प्रतिवद्धताहरु सामान्यतया पूरा गर्नु राजनीतिज्ञहरुले आफ्नो दायित्व ठान्दैनन्। जनतालाई बारम्बार उपयोग गर्न मिल्ने दोश्रो तहका प्राणी ठान्दछन्। जनताको भावना र संवेदनासँग बारम्बार खेलवाड गर्दछन्। अर्को निर्वाचनमा पुनः विगतमा गल्ती भएको र अब त्यस्तो नहुने वचनबद्धता दोहोर्‍याउछन्। वर्षौसम्म यस्तै क्रम उपक्रम चलिरहन्छ। एउटा पुस्ताले पाएको दुःख पुस्तौ पुस्तासम्म स्थानान्तरित हुँदासम्म राजनीतिज्ञ र सरकारको प्रवृतिमा सुधार हुँदैन। 

हामी यति बेला यस्तै नियती भोगिरहेका छौं। हामीले ल्याएको अर्थात् स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले पुरानै प्रवृति देखाइरहेको छ। जनताको दिनाचर्यामा परिवर्तन ल्याउन र परिवर्तनको अनुभूति दिलाउन २०६३ पश्चातका सरकारले कुनै पनि नयाँ कार्य देखाउन सकिरहेका छैनन्। यसको तात्पर्य ठूला ठूला राजनीतिक परिवर्तन पनि कतिपय अर्थमा निर्रथक बन्दा रहेछन्। नेपाली जनताले यस्तो निष्कर्षनिकाल्ने दिन आउन सक्छ। तसर्थ परिवर्तित सन्दर्भमा सरकारमा बस्ने प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले स्पष्ट रुपले बुझ्नुपर्छ कि उनीहरुले प्राप्त गरेको जिम्मेवारी देशलाई सहि बाटोतर्फअग्रसर गराउने र जनताको जीवनलाई सहज एवं सुखद बनाउनका लागि हो। जनताको रगत र पसिनाबाट संग्रह भएको ढुकुटीबाट पारिश्रमिक  पाउने व्यक्ति, नेता या पदाधिकारी देशप्रति उदासिन बन्ने सुविधा हुँदैन।

यसको सिधा अर्थ हो, नयाँ संविधानको कार्यान्वयनका चुनौती र तगाराहरुलाई हटाउनका लागि वर्तमान सरकार गम्भिर हुनुपर्छ। प्रदेशको सिमांकन, स्थानीय तहको सीमाना र संख्याका साथै आन्दोलनरत दलहरु एवं समुदायका मागहरुको यथोचित सम्बोधन वर्तमान सरकारको दायित्व हो। बालुवाटार र पुल्चोक निवासको बार्दलीमा बसेर समय कटाउने छुट वर्तमान सरकारलाई  छैन। जनमानसमा एउटा चर्चा चल्न थालेको छ यतिबेला। नेपालमा प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रसम्म आयो। तर, जनउत्तरदायी शासन व्यवस्था आएन। जनताले चाहेको वास्ताविक प्रजातन्त्र आउन सकेन। व्यवस्थाको नाम मात्र फेरियो। आचरण र चरित्र फेरिएन। बहुदलीय व्यवस्थाका मठाघीशहरुले वास्तविक प्रजातन्त्रको हुर्मत लिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.