२०७६ भित्र १६८ मेगावाट विद्युत प्रसारण लाइनमा जोड्ने

|

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले प्रवर्द्धन गरेका आयोजनाको कामले गति लिएको छ। २०७२ सालको भूकम्प र नाकाबन्दीको कारण निर्माणमा ढिलाइ भएका यी आयोजनाले पुन: लक्ष्य निर्धारण गरेर कामलाई गति दिन थालेका हुन्। 

चिलिमेले प्रवर्द्धन गरेका आयोजनामध्ये रसुवागढी आयोजनाले १११ मेगावाटको रसुवागढी आयोजना निर्माण गरेको छ। त्यस्तै, सान्जेन जलविद्युत कम्पनीले १४.८ मेगावटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको तल्लो सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेका छन्।

३ वटा आयोजना गरी १६८ मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएका यी तीनै आयोजनाको कामले तीव्रता पाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

रसुवागढी आयोजना
१११ मेगावाटको रसुवागढी आयोजना निर्माणको काम २०७२ बैशाखदेखि २०७३ म‌ंसिरसम्म रोकिएको थियो। त्यसपछि ७ महिना काम सुचारु भई २०७४ साउनदेखि असोजसम्म पनि काम रोकिएको थियो। असोजयता २० प्रतिशत काम सम्पन्न भएको र अहिले कामले थप तीव्रता पाएको रसुवागढी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए। 


रुसुवागढी आयोजनाले हालसम्म ६० प्रतिशत काम सकेको छ। काम सुरु गर्ने क्रममा २०७४ भदौसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको यस आयोजनाको पुन: २०७६ असोजसम्मको लक्ष्य लिएर कामलाई तीव्रता दिइएको सिईओ कोइरालाले जानकारी दिए। 

१३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ अनुमानित लागत निर्धारण गरिएको निर्माणाधीन यस आयोजनाको केही लागत वृद्धि हुनसक्ने सिईओ कोइरालाले बताए। 'भूकम्प र नाकाबन्दीको कारण आयोजना सम्पन्न गर्ने समय केही ढिला गयो, अब भने निर्धारित समयमै सक्नेछौँ', उनले भने। 

माथिल्लो सान्जेन
सान्जेन जलविद्युत कम्पनीले निर्माण गर्न थालेको माथिल्लो सान्जेन १४.८ मेगावाटको काम हालसम्म ६८ प्रतिशत सकिएको सान्जेनका सिईओ किरणकुमार श्रेष्ठले बताए। उनका अनुसार सन् २०१९ अप्रिलसम्म निर्माण कार्य सक्ने लक्ष्यअनुसार काम भइरहेको छ। 

वार्षिक ८ करोड २४ लाख युनिट उत्पादन लक्ष्य राखिएको यो आयोजनाको अनुमानित लागत २ अर्ब २२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

तल्लो सान्जेन
सन् २०१९ जुलाईसम्म सक्ने लक्ष्यका साथ ४२.५ मेगावाटको तल्लो सान्जेन निर्माण कार्य भइरहेको सिईओ श्रेष्ठले जानकारी दिए। उनका अनुसार हालसम्म तल्लो सान्जेन निर्माणको काम ५८ प्रतिशत सकिएको छ। 


वार्षिक २४ करोड १८ लाख युनिट विद्युत उत्पादनको लक्ष्य राखिएको यस आयोजनाको अनुमानित लागत ५ अर्ब २ करोड रुपैयाँ छ। सिईओ श्रेष्ठले आयोजनाले तय गरेको लागतमै समयमै आयोजना निर्माणको काम सम्पन्न हुने बताए। 'आयोजनालाई तय गरिएको लागत र समयमा सम्पन्न गर्न हामी प्रतिवद्ध छौँ र सोहीअनुसार काम भइरहेको छ', श्रेष्ठले भने।

समयमै पूरा गर्न घिसिङको निर्देशन
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा चिलिमे जलविद्युत आयोजनाका अध्यक्ष कुलमान घिसिङले रसुवागढी, माथिल्लो सान्जेन र तल्लो सान्जेन निर्माणको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।

उनले रसुवागढी आयोजनाका प्रमुख कार्यकारी अधिकृत माधव कोइराला र सान्जेनका किरणकुमार श्रेष्ठलाई निर्धारण गरिएको सयमभित्र सम्पन्न गर्नका लागि निर्देशन दिएका हुन्। 'भूकम्प वा नाकाबन्दीका कारण विगतमा हामीले सोचेअनुसार काम गर्न सकेनौँ', घिसिङले भने, 'अब समयमै काम गर्नुपर्नेछ, समय सार्ने सुविधा हामीलाई छैन, सोहीअनुसार कामलाई तीव्रता दिनुस्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.