|

विराटनगर : नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी तथा सिनियर नेता भीम आचार्यलाई २ मतले पछि पारे। 

माधव नेपाल समूहको लाइन बलियो देखिएको यस प्रदेशमा अन्तिम समयमा आएर शेरधन राई नै विजयी बन्दा लाइनअनुसारको राजनीति यहाँ नदेखिएको एमालेका नेता बताउँछन्। ‘माथिको लाइनले काहाँ हुन्थ्यो र! हामीले त भन्दै आएका थियौँ नि’, नेपाल लाइनकै भनिएका मोरङ एमालेबाट निर्वाचित प्रदेशसभा सांसद लीलाबल्लभ अधिकारीले भने, ‘लाइनअनुसार रिजल्ट आएको भए यस्तो हुँदैनथ्यो।’ 

मतदान भइरहँदा धेरै एमाले नेता तथा विश्लेषकहरूले पनि राई यस पटक पराजित हुने अनुमान गरेका थिए। यद्यपि, राईले जितेपछि सबैले जिब्रो टोक्न बाध्य भए। त्यसो हुनुमा मुख्य भूमिका थियो एमाले नेता तथा यसअघि मुख्यमन्त्रीको दाबी गरिरहेका नेता जीवन घिमिरेको। घिमिरे जसरी भए पनि आचार्यलाई यस पटक ‘देखाइदिने’ मुडमा थिए। 

स्थानीय तहको निर्वाचनको बेला पैसा मागेको कुराले घिमिरे आचार्यसँग बिच्किएका थिए। घिमिरेको लाइनमा प्रदेशसभा सांसद राजकुमार ओझा, लीलाबल्लभ अधिकारी, वसन्तीदेवी यादव, गुलेफुन मिया र उपेन्द्र घिमिरे थिए। उनीहरूकै मतका कारण शेरधन राई विजयी भएको चर्चा छ। संस्थापन पक्षमा २ धार नबनेको भए सहजै आचार्यले निर्वाचन जित्ने एक जिल्ला नेताले बताए। 

‘निर्वाचन परिणाम जे आएको छ, यसलाई स्वागत गर्छु’, पराजित बनेपछि प्रदेशसभा सांसद भीम आचार्यले भने, ‘शेरधनजीलाई बधाई दिन चाहन्छु, लोकतान्त्रिक प्रक्रियाबाट हामीले नेता चयन गरेका छौँ, जे भयो, यसलाई यहीँ थाँती राखौँ।’ 

निर्वाचन जितेपछि शेरधन राईले अब सबैलाई मिलाएर अघि बढ्ने बताए। ‘मैले जिते पनि माननीय सदस्यहरूलाई भेदभावपूर्ण व्यवहार गर्दिनँ’, उनले भने, ‘जीत हार हुन्छ, यसलाई इगोको रूपमा लिनुहुँदैन, सबैलाई सम्मानजनक जिम्मेवारी दिएर अघि बढ्छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.