|

बारा : नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लब सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ क्लबलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिभुवन आर्मीको सेमिफाइनल यात्रामा म्यान अफ द म्याच जर्जप्रिन्स कार्कीले २, नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान १ गोल गरे। सशस्त्र प्रहरी विरुद्ध आर्मीका जर्जप्रिन्स कार्कीले खेलको ३६औँ मिनटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको एपीएफ विरुद्ध आर्मीले दोस्रो हाफमा ३ गोल गर्‍यो। दोस्रो हाफको सुरुवातमै नवयुग श्रेष्ठले आर्मीको अग्रता दोब्बर पारे। खेलको ४७औँ मिनटमा नवयुगको गोलपछि सशस्त्र थप दबाबमा पर्‍यो। खेलको ७१औँ मिनटमा दिनेश हेम्जनले आर्मीका लागि तेस्रो गोल गरे। 

यस्तै ७५ औं मिनटमा एपीएफ ९ खेलाडीमा सीमित भयो भने आर्मी १० खेलाडीमा सीमित भयो।  एपीएफका रञ्जन विष्टले आर्मीका विमल पाण्डेलाई लडाएपछि केही समय दुवै टिमबीच तनाव सिर्जना भयो। फालपछि पहेँलो कार्ड खाएका रञ्जन आर्मीका खेलाडीसँग झगडा गर्न गएपछि उनी दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिए। रञ्जन संगै उनका भाई एपीएफका स्ट्राइकर अञ्जन पनि दोहोरो पहेँलो कार्ड खाँदै बाहिरए भने आर्मीका चर्चित स्ट्राईकर नवयुग श्रेष्ठ रातो कार्ड पाएर मैदानबाट बाहिर निस्के। 

९ खेलाडीमा सीमित एपीएफ विरुद्ध आर्मीले खेलको अन्तिम समयमा चौथो गोल गर्‍यो। खेलको ८२औँ मिनटमा आर्मीका जर्जप्रिन्स कार्कीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० को शानदार जित दिलाए। प्रतियोगितामा सोमबार थ्री स्टार क्लब र सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढीबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.