|
फाइल फोटो

रौतहट : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अब प्रदेश २ सबैभन्दा विकसित र सुन्दर प्रदेश बन्ने बताएका छन्। 

सोमबार रौतहटको गरुडा नगरपालिकाको प्रथम नगरसभाबाट पारित गरिएको चालु आर्थिक वर्ष २०७४/०७५ को प्रस्तावित बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्। 

मधेसमा अब मधेसीले राज्य चलाउने भएको हुँदा यो प्रदेशमा विकासको मूल फुट्ने भन्दै अध्यक्ष यादवले सबै जनप्रतिनिधिहरू समाज विकासमा लाग्नुपर्ने बताए। अध्यक्ष यादवले भने, ‘विभिन्न चरणबद्ध आन्दोलनबाट प्राप्त अधिकारको रक्षा गर्दै मधेसी जनताले पाउनुपर्ने अन्य अधिकारका लागि पनि लडाइँ लड्नु छ।’ मधेसी जनताको भावनाअनुसार नै मधेसमा मधेसी पार्टीको प्रदेश सरकार बनेको उनको भनाइ थियो। 

यादवले प्रदेशको विकासका लागि स्थानीय तहमा परिमार्जन गर्न अझैै आवश्यक रहेको भन्दै प्रदेश २ लाई  सरकारले परिमार्जन नगरी नहुने धारणा राखे। मापदण्ड नै नपुगेका क्षेत्रलाई समेटेर नगरपालिका बनाउँदा जनतालाई नै मार पर्ने हुँदा यो निर्णय सच्चिनु आवश्यक रहेको अध्यक्ष यादवको भनाइ थियो।

फोरम नेपालका अध्यक्ष यादवले भने, ‘गुणस्तरीय शिक्षाका लागि सबै तह र तप्काबाट सहयोग गर्न जरुरी छ।’ उनले अब विकासलाई गिलासमा राखेर काम गर्ने दिन गएका, मधेसमा धेरै परिर्वतन भइसकेको धारणा राखे। ‘तसर्थ अब प्रदेश २ नेपालकै नमुना प्रदेश बन्नेमा म ढुक्क छु’, उनले भने। अहिले प्रदेश २ मा फोरम नेपालको तर्फबाट फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत मुख्यमन्त्री हुँदै छन्।

कार्यक्रममा फोरम नेपालको तर्फबाट रौतहट क्षेत्र नम्बर  १ ‘क’बाट विजयी प्रदेश सांसद योगेन्द्र राय, क्षेत्र नम्बर २ ‘ख’का सांसद किशोरी यादवलगायत विभिन्न नगरपालिकाका नगर प्रमुखहरूको सहभागिता थियो। 

कार्यक्रममा अध्यक्ष यादवलाई ५१ किलोको फूलको मालाले स्वागत गरिएको थियो। 

नगरसभाले ३९ करोड ७२ लाख ४३ हजार रुपैयाँको बजेट विनियोजन गरेको गरुडा नगरपालिकाका मुख्य प्रशासकीय अधिकृत उदयराज देवकोटाले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.