|

विराटनगर : प्रहरीले अपहरणमा परेका ३ जना भारतीय नागरिकलाई सकुशल उद्धार गरेको छ। प्रहरीले मोरङको सुन्दरहरैंचा–९स्थित नारायण साहको घरबाट अपहरणमा परेका ३ जना भारतीय नागरिकलाई सकुशल उद्धार  गर्नुकासाथै अपहरणमा संलग्नलाई पक्राउ गर्न सफल भएको हो।

अपहरण गरी शरीर बन्धक बनाएर फिरौती रकम माग्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। भारत खगडियाका एक भारतीय पुजारीसहित ६ जनालाई नेपाल घुम्न जानुपर्छ भन्दै अपहरणकारीले नेपाल ल्याएका थिए। अपहरण गरेको तीन दिनपछि उनीहरुलाई मोरङ प्रहरीले उद्धार गरेको छ भने अपहरणमा संलग्नलाई पनि पक्राउ गर्न सफल भएको छ।

अपहरणमा सुनसरी इनरूवाका ५७ वर्षीय नारायण साह, २५ वर्षीय  मधुकर साह, मोरङ सुन्दरहरैंचा–१ का ३८ वर्षीय टीकाराम चौधरी, ३७ वर्षीय कान्छा भनिने ठाकुर गुरूङ र २४ वर्षीय नवराज गौतमलाई पक्राउ गरको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए। मोरङ प्रहरीले अपहरणमा परेका मध्ये उद्धार गरेका तीन जनालाई र पक्राउ परेका अपहरणकारीलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ।प्रहरीले भारतको पञ्चायत बेन्दोरथानका अजयकुमार साह, अखिलेश साह र दिनबन्दु तिवारीलाई उद्धार गरेको हो।

 अपहरणमा परेका मध्ये भारतीय नागरिक बालेश्वर रजक र रन्जित कुमारले भारू ५०/५० हजार बझुाएर अपहणमुक्त भएका थिए भने राजकिशोर साह अपहरणकारीको फन्दाबाट उम्किएका थिए। माघ २५ गते दिउँसोको समयमा अपहरणमा परेका मध्ये राजकिशोर विराटचोकमा रहेको मोनालिसा होटलबाट भाग्न सफल भएका थिए।

त्यसपछि यो घटना बाहिर आएको हो। भागेका राजकिशोर भारत गएर अन्य साथीको साथमा नेपाल आएर प्रहरीलाई खबर गरेका थिए। नेपाल घुम्न भनेर अपहणकारीले भारतीय नागरिक ल्याए,’ एसपी बिसीले भने, ‘नेपाल ल्याएपछि बन्धक बनाएर फिरौती मागे। अपहरणकारीले प्रतिव्यक्ति १ लाखको दरले ६ लाख भारू मागेको अनुसन्धानबाट खुलेको छ।’ अपहरणकारी मध्येका नवराज गौतमले बेलबारी ६ बस्ने ढोडियालाल चौधरी थारूलाई को १४ प ५२४४ नम्बरको मोटरसाइकलमा लिई भारतको जोगबनी पुगेर भारू १ लाख फिरौती लिएर बालेश्चर रजक र रञ्जित कुमारलाई छुटाएको समेत अनुसन्धानमा देखिन आएको प्रहरीले जनाएको छ। अपहरणमा परेकाहरूलाई दुई २ होटलमा राखेर त्यसपछि सुन्दरहरैंचा ९ मा रहेको नारायण साहको कोठामा लगेर बन्धक बनाएका थिए।

 प्रहरीका अनुसार एकजना होटलबाट भागेपछि असुरक्षित महसुस गरेर अपहरणकारीले ठाउँ परिवर्तन गरेको प्रहरीले जनाएको छ। बन्धक बनाएको अवस्थामा ५ लाख भारू फिरौती मागेकोमा अखिलेश साहले ५ लाखको चेक दिँदा चेक लिन मानेका थिएनन्।  शारीरिक तथा मानसिक यातना दिएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङका सादा पोशाकमा खटिएका प्रहरी टोली र इलाप्रका बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूको उद्धार गरेको हो।

पक्राउ परेका ५ जनालाई अपहरण तथा शरिर बन्धक मुद्दामा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको एसपी बिसीले बताए। पक्राउ परेका अपहरणकारीको साथबाट प्रहरीले भारू ५० हजार, विभिन्न कम्पनीका ५ थान मोबाइल र को १४ प ५२४४ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ। अपहरणको क्रममा नेपालमा सहयोग गर्नेलाई प्रहरीले पक्राउ गरेको भए पनि भारतबाट अपहरण गर्ने ५ जनाको गिरोह भने अहिले फरार छ। उनीहरूको भारतीय प्रहरीसँगको सहकार्यमा खोजी भइरहेको प्रहरी उपरीक्षक बिसीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.