फिचर

११० वर्ष पुरानो कृष्ण मन्दिर अझै टहरामा
SHARES

यस्तो छ मन्दिरको ऐतिहासिक, साँस्कृतिक र शैक्षिक पक्ष

फागुन २, २०७४

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोक सदरमुकाम चौतारा साँगाचोकगढी– ५ मा रहेको कृष्ण मन्दिर पुनर्निर्माण नहुँदा अझै टहरामै छ। पुरातात्त्विक सम्पदाको रूपमा रहेको ऐतिहासिक मन्दिर २०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको थियो। वि. सं. १९६४ मा यस मन्दिरको निर्माण भएको हो।

    मन्दिर पुनर्निर्माण गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले चासो देखाएको छ। ‘भूकम्पपछिको पुनर्निर्माणमा सदाचारितामा काम गर्दै आएका छौँ’, कार्यक्रम संयोजक उमेश विश्वकर्माले भने, ‘हामी जिल्लाको ११० वर्ष पुरानो कृष्ण मन्दिरको पुनर्निर्माणमा लागिपरेका छौँ।’ 

    कृष्ण मन्दिरको अस्तित्वसँगै चौताराको अस्तित्व जोडिएको भन्द मन्दिर पुनर्निर्माण तत्काल गर्न आवश्यक रहेको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंङ तामाङ बताउँछन्। 

    शहरी विकास तथा भवन डिभिजन कार्यलयका निमित्त प्रमुख टंकप्रसाद गौतम, पुनर्निर्माण प्राधिकरण जिल्ला सचिवालयका प्रमुख रुद्र मल्ल र जिल्ला प्राविधिक कार्यालयका माधव कार्कीले कृष्ण मन्दिर पुनर्निर्माण अपरिहार्य भएको भन्दै पुनर्निर्माणका लागि प्राविधिकलगायत हरेक किसिमको सहयोग गर्ने जनाएका छन्।
    निजी आवास निर्माणमा पछिल्लो चरण तीव्रता आएसँगै ३३ महिनापछि पुरानो ऐतिहासिक मन्दिर निर्माणमा चासो बढेको हो।

    मन्दिरको ऐतिहासिक पक्ष 
    वि. सं. १९६४ मा यो मन्दिर निर्माण भएको हो। सोही समयबाट गुठी बनाई हरेक कृष्णाष्टमीमा जात्रा संचालन गर्दै आएको र अद्यापि जात्रा चलिरहेको स्थनीय बताउँछन्। तत्कालीन समयमा जात्रा संचालनका लागि बाजागाजा बजाउनेको अभावका कारण चित्लाङबाट कपाली झिकाई जात्रा संचालन गर्ने गरेको बुढापाकाहरू बताउँछन्। 

    अरनिको राजमार्ग बन्नुभन्दा पहिले भोट आवतजावत गर्ने मुख्य बाटो नै यही मन्दिरको प्रांगण थियो। मन्दिर वरिपरि रहेको पेटीमा भोट आवतजावत गर्ने बटुवाहरूले थकाइ मात्र मार्दैनथे, साँझ परेको बेला त्यही मन्दिरमा वास बस्ने गर्थे। 

    प्रारम्भकालदेखि नै मन्दिरमा भजनकीर्तन हुने गथ्र्यो। कृष्णाष्टमीमा कृष्णको प्रतिमालाई रथमा राखी बाजागाजा र लाखे नाचसहित बजार परिक्रमा गर्ने चलन अद्यापि छ। प्रारम्भमा महाकली नाच, घिन्ताङ किसी नाच प्रदर्शन हुने गर्थे। अहिले भने ती नाचहरू हराइसकेका छन्।

    साँस्कृतिक पक्ष
    निर्माणको केही समयपछि साँस्कृतिक कार्यक्रमको संचालन पनि भयो। मन्दिरको प्रांगणमा मञ्च निर्माण गरी स्थानीय कलाकारको नाचगान र नाटक हेर्न टाढाटाढाका गाउँबाट मान्छेहरू आउँथे। जात्रा र साँस्कृतिक कार्यक्रम रातभरि नै चल्ने गथ्र्यो। विक्रमको ३० को दसकसम्म साँस्कृतिक कार्यक्रमलाई कृष्ण गुठीले निरन्तरता दियो। त्यसपश्चात त्यसको बिँडो जुगल साँस्कृतिक परिवारले थाम्न थालेको हो। 

    पञ्चायती शासनको दबदबा, स्थानीय प्रशासनको रवैया र स्थानीय रूपमा हुने शोषण र अन्यायका विरुद्ध जुगलले त्यसताका साँस्कृतिक कार्यक्रममार्फत धावा बोलेको थियो। ५० को दशकमा भने त्यो बिँडोलाई कलापुञ्जले थामेको थियो।

    शैक्षिक पक्ष
    धार्मिक मन्दिर र शैक्षिक मन्दिर विल्कुलै फरक फरक पाटा हुन्। तर, यहाँको इतिहास हेर्दा यही मन्दिरबाट शैक्षिक गतिविधिहरू प्रारम्भ भएका देखिन्छ। 
    यही मन्दिरबाट सिन्धुपाल्चोक जिल्लाकै पहिलो विद्यालय श्री कृष्ण रत्नगंगा उच्चमाविको शैक्षणिक क्रियाकलापको प्रारम्भ भएको पाइन्छ। वि. सं. २००४ को सेरोफेरोमा यसै मन्दिरमा स्थानीय शिक्षाप्रेमीहरूले स्थानीय बालबालिकाहरू जम्मा गरेर शैक्षिक गतिविधिलाई अगाडि बढाएका थिए। उक्त समयमा हालको श्री कृष्ण रत्नगंगा उमाविलाई श्री कृष्ण विद्याश्रम भन्ने गरिन्थ्यो।

    विद्यालयसँगै यस मन्दिरबाट जिल्लामा पहिलो पटक पुस्तकालयको पनि सुरुवात भएको थियो। जिल्लाकै पहिलो पुस्तकालय ग्रामीण विकास पुस्तकालय वि. सं. २०१२ मा यसै मन्दिरको कोठाबाट प्रारम्भ भएको हो। ५० को दशकसम्म संचालनमा रहेको उक्त पुस्तकालय ६० को दशकमा भने हालको वडा कार्यालयमा सारियो। २०७२ को भूकम्पमा परी कार्यालय भग्न भएपछि पुस्तहरू सबै पुरिए।

    गाईजात्रे भित्ते पत्रिकाको प्रारम्भ पनि यसै मन्दिरको भित्ताबाट भएको हो। यस्ता खाले परम्परा मुलुकका अन्य भागमा सायदै देख्न पाइन्छ। वि. सं. २०३६ बाट प्रारम्भ भएको गाईजात्रे भित्ते पत्रिका अझै पनि प्रकाशन हुने गरेको छ। 

    पञ्चायती शासनको दबदबा, वाक स्वतन्त्रतामाथिको प्रतिबन्धका कारण स्थानीय प्रशासन र सरकारका विरुद्ध बोल्न, लेख्न नपाउने उक्त समयमा गाईजात्राको दिनमा भने छुट थियो। यही छुटको उपयोग गर्दै स्थानीय युवाहरूले स्थानीय प्रशासन, सरकार र राजनीतक व्यक्तित्वहरूको चरित्र उदांगो पार्ने हेतुले व्यंग्यात्मक लेख, समाचार, कार्टुन, गीत, कविताहरूलाई समेटी भित्ते लेखनको सुरुवात गरेका थिए।

    कार्यदल गठन 
    मन्दिर पुनर्निर्माणका लागि आवश्यक कार्य गर्न वडा अध्यक्ष नरमान श्रेष्ठको संयोजकत्वमा एक कार्यदल गठन पनि गरिएको छ। कार्यदलका सदस्यहरूमा दीपक प्रधान, अशोक श्रेष्ठ, हेमन प्रधान, कमलचरण कक्षपति, सुरेश कसजू, राजेन्द्रभक्त प्रधान रहेका छन्। कार्यदलले मन्दिरको ऐतिहासिक पृष्ठभूमि संकलन गर्दै सरोकारवाला निकायमा प्रस्ताव पेस गर्नेछ।

रमेश पराजुली

पराजुली थाहाखबरका लागि सिन्धुपाल्चोकबाट पत्रकारिता गरिरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]