|

भक्तपुर : महाशिवरात्रिको अवसरमा मंगलबार भक्तपुरका विभिन्न शिवालयहरूमा भक्तजनहरूको भीड लागेको छ। 

जिल्लाको सूर्यविनायक नगरपालिका– ८, सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर, सोही नगरपालिका– ९, नंखेलस्थित आशापुरेश्वर (आशापुरी) महादेव मन्दिर, वडा–१० चित्तपोलस्थित कैलाशनाथ महादेव, चाँगुनारायण नगरपालिकाको यातु महादेव, भक्तपुर नगरभित्रको दत्तात्रय मन्दिरमा भक्तजनको भीड लागेको हो। 

यसैबीच महाशिवरात्रि पर्वका अवसरमा डोलेश्वरमा देश विदेशबाट आएका साधु सन्तहरूलाई ३ श्रेणीमा वर्गीकरण गरेर दक्षिणा दिइने भएको छ। केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवम् प्रचार प्रसार उपसमिति संयोजक मोहन बल्लका अनुसार ‘क’ वर्गका साधु सन्तलाई एक हजार १११, ‘ख’ वर्गका लागि ७७७ र ‘ग’ वर्गका लागि ५५५ रुपैयाँ दक्षिणा तथा प्रति साधुलाई एक थान कम्बल र एक थान धोती प्रदान गरिनेछ।

महाशिवरात्रि पर्व सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए। महाशिवरात्रि मेलाका अवसरमा डोलेश्वरमा पञ्चस्नान र चार प्रहर पूजाको व्यवस्थासमेत गरिएको छ। ‘पञ्चस्नानका लागि १ हजार १०० र चार प्रहर पूजामा सम्मिलित हुन चाहने भक्तजनहरूका लागि ११ हजार १११ रुपैयाँको रसिद काटी पूजामा सामेल गराइने छ’, उनले भने।

मन्दिर परिसरमा जम्मा भएका साधु सन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरेको संयोजक बल्लले जानकारी दिए। त्यस्तै, शिवरात्रिमा आउने सम्पूर्ण भक्तजनहरूलाई प्रसादीको समेत व्यवस्था श्री मानव सेवा संघ कुलेश्वर काठमाडौैंबाट गरिएको छ। नेपाल प्रहरी र नेपाली सेनाले यहाँको सुरक्षाको व्यवस्थापन गरेको छ।  

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.