|

चितवन : सधै पर्यटक बोकेर जंगल डुलाउने र संरक्षणको काममा मानिसले जता भन्यो उतै जाने चितवन सौराहाका हात्तीको दैनिकी बुधबार छुट्टै बन्यो। लावालस्करसहित सौराहाको सिसवार चौरमा आएका हात्ती मीठामीठा परिकारमा रमाए। 

हात्तीलाई मनपर्ने आहार सखर, उखु, बन्दा, केरा, धान, कुचिलगायतका खानेकुरा रमाइ–रमाइ खाए। यो दृश्य चितवनमा आयोजना गरिएको हात्ती वनभोजको हो। वनभोजमा ६० वटा हात्ती सहभागी थिए।

सौराहामा जारी खाना महोत्सवका अवसरमा स्थानीय बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनको पहलमा खाना महोत्सवका अवसरमा पहिलो पटक हात्तीको वनभोज कार्यक्रम गरिएको हो। 

‘हात्ती हाम्रो साथी हो, हात्तीलाई माया गर्नुपर्छ, उनीहरूको स्वास्थ्यको ख्याल गर्नुपर्छ,’ रेष्टुरेण्ट एण्ड वार एसोरिएसन नेपाल(रेवान), सौराहाका अध्यक्ष गोकर्ण गिरीले भने, ‘संरक्षणमा योगदान गर्नुपर्छ भन्ने सन्देश दिन हात्ती वनभोज कार्यक्रम गरिएको हो।’ 

लस्करै आर्क आकारमा राखिएका ६० वटा हात्ती एकै ठाउँमा देख्दा पर्यटकहरु पनि समेत रमाएका थिए। त्यसैले उनीहरू सेल्फी लिन मस्त भए।
 
काठमाडौंबाट आएका प्रणव सुवेदीले यति धेरै हात्ती एकैसाथ देख्नु भाग्य कै कुरा भएका बताए।  यो कार्यक्रम सकारात्मक भएको सुवेदीले प्रतिक्रिया दिए।

चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले हात्तीको स्वास्थ्य र संरक्षणका लागि वनभोज कार्यक्रमले सकारात्मक सन्देश दिएको बताए। उनले यहाँ हुने हरेक कार्यक्रममा संरक्षणलाई प्राथमिकता दिन सबैलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.