|

विराटनगर :  प्रदेश १ को उपसभामुखमा माओवादी केन्द्रकी सांसद सरस्वती पोखरेल (शारदा) निर्विरोध निर्वाचित भएकी छन्।

वाम गठबन्धनको तर्फबाट माओवादीको भागमा परेको उपसभामुखको मनोनयन दर्ताका लागि संसद सचिवालयले बुधबार बिहान १० बजेदेखि ३ बजेसम्मका लागि समय तोकेको थियो। सो अवधिमा पोखरेलको मात्रै उम्मेदवारी परेको छ। सभामुखमा यसअघि नै सुनसरीका प्रदीपकुमार भण्डारी निर्वाचित भएका थिए। सभामुखमा पनि भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। 

उपसभामुखका लागि पोखरेलको प्रस्तावकमा खोटाङका माओवादीका सांसद रामकुमार राई र समर्थकमा धनकुटाका एमाले सांसद इन्द्रमणि पराजुली रहेका छन्। १ जनाको मात्रै उम्मेदवारी परेकाले उपसभामुख पनि सर्वसम्मत चयन हुने देखिएको छ। उम्मेदवारी दर्ता लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्ने बताइन्। पोखरेलले भनिन् ‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको छ,’ उपसभामुख पोखरेलले संघीयताको मर्मअनुसार कानून निर्माण गरी कार्यान्वयन गर्नेमा जोड दिइन्।
को हुन् पोखरेल?

सुनसरी घर भएकी पोखरेल २०३२ सालमा प्युठानमा जन्मिएकी हुन्। उनले २०४६ सालदेखि राजनीति सुरु गरेकी हुन्। समाजशास्त्रमा स्नातकोत्तर गरेकी पोखरेल ०५४ सालमा एमाले विभाजनपछि मालेमा रहेर काम गरेकी थिइन्। ०५८ सालदेखि माओवादी जनयुद्धमा सामेल भएकी थिइन्। 

पोखरेल एमाले निकट अनेरास्ववियुको केन्द्रीय सदस्य समेत भएकी थिइन्। माओवादी भूमिगत रहँदा पोखरेलले संखुवासभाको सेक्रेटरीको रुपमा भूमिका निर्वाह गरिन्। हाल माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सुनसरी जिल्लाको संयोजकको भूमिका निर्वाह गरिरहेकी पोखरेल समानुपातिक कोटाबाट प्रदेशसभा सांसद भएकी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.