|

रुकुम : जिल्लाको मुसिकोट नगरपालिका– ५ सेरिगाउँको मोडर्न रिसर्च कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालिका विद्यार्थीहरूले रूखबाट झण्डै १९ भोल्टेज क्षमताको विद्युत निकालेका छन्। 

कन्सल्टेन्सीका विद्यार्थीले गुनामौरा नामको रूखबाट विद्युत निकाल्न सफल भएका हुन्। ३ वर्षअघिदेखि विभिन्न खाले प्राविधिक तालिम दिलाउँदै आएको संस्थाका विद्यार्थीले यस वर्ष भने काँचो रूखबाट विद्युत निकालेका हुन्। 

लेभल टु इलेक्ट्रिकल सवओभरसियर पढिरहेका विद्यार्थीले रूखबाट विद्युत निकालेका हुन्। उक्त संस्थामा लेभल टु इलेक्ट्रिकल सवओभरसियर पढिरहेका जयबहादुर नाथले आफूहरूले धेरै मिहिनेतबाट विद्युत निकाल्न सफल भएको बताए। उनका अनुसार गुनामौरा प्रजातिको रूखबाट मात्र विद्युत निकालिएको हो। ‘धेरै मिहिनेतपछि रूखको भित्री भागमा तामाको तार र रूखको बाहिरी भागमा फलामको तार राखेर कनेक्सन गर्दा करिव १९ भोल्टेज विद्युत निकालियो’, उनले भने। 

अर्का विद्यार्थी खिमप्रकाश नाथले आफ्नै जिल्लामा केही काम गर्ने उद्देश्य लिएर यहाँ पढिरहेको बताए। ‘रूखबाट विद्युत निकाल्ने काम हाम्रा लागि ठूलै उपलब्धि हो’, उनले भने, ‘यो उपलब्धि अघिल्ला कक्षामा पढ्ने विद्यार्थीको पे्ररणाले भएको हो। उनीहरूको  प्रेरणाले नै हामी नयाँनयाँ कुराको आविष्कारमा हौसिएका छौँ।’ 

यस संस्थामै अध्यनरत विद्यार्थीहरूले गत वर्ष आलु र स्याउबाट विद्युत निकालेर सबैलाई चकित बनाएका थिए। यस वर्ष झनै रूखबाट विद्युत निकालेर विद्यार्थीहरूले सबैलाई थप आश्चर्यमा पारेका छन्। 

संस्थाले हरेक वर्ष कुनै न कुनै नयाँ सोच लिएर अगाडि बढिरहेको संस्थाका कार्यकारी निर्देशक भुवन नाथ बताउँछन्। ‘अबका दिनमा हामी कुनै नयाँ आविष्कार देखाउन आतुर छौँ। त्यसका लागि सबैको सहयोग, सहकार्य र साथ चाहिन्छ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.