|

काठमाडौं : मेडिकल शिक्षा अध्ययनका लागि पछिल्ला पाँच वर्षमा मुलुकबाट २२ अर्ब रुपैयाँ विदेशिएको छ। स्वदेशी मेडिकल कलेजमा अध्ययन गर्न पर्याप्त सिट नभएपछि विदेशी मेडिकल कलेज तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीबाट उक्त रकम बाहिरिएको हो।

सरकारी तथ्यांकअनुसार मुलुकबाट पछिल्ला पाँच वर्षमा चार हजार तीन सय ४६ जना विद्यार्थी एमबीबीएस तथा बीडीएस अध्ययनका लागि विदेश गएका छन्। शिक्षा मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार बाहिरिएका एक विद्यार्थीले ५० लाख रुपैयाँ खर्च गर्छन्। मेडिकल शिक्षाका लागि बाहिरिएका विद्यार्थीले शिक्षण शुल्कबापत बुझाउने शुल्क अध्ययन गरी शिक्षा मन्त्रालयले २१ अर्ब ७३ करोड रुपैयाँ बाहिरिएको तथ्यांक निकालेको हो।

मन्त्रालयका उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतमले मेडिकल शिक्षाकै लागि मुलुकबाट हरेक वर्ष ठूलो धनराशि बाहिर जाने गरेको बताए। अहिले नेपाली विद्यार्थी मेडिकल शिक्षाका लागि विशेष गरी भारत, बंगलादेश, चीन, रसियालगायत मुलुक जाने गरेका छन्।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार सन् २०१३ मा ५ सय ६५ जना बाहिरिएका थिए। यो संख्या बढेर सन् २०१४ मा १ हजार ३ सय ७९ तथा सन् २०१५ मा १ हजार ४ सय ६१ जना विदेशिएका थिए।

सन् २०१६ मा ४ सय ७८ र सन् २०१७ मा ४ सय ६३ जना विदेश अध्ययन गर्न गएका छन्। यी सबै विद्यार्थी एमबीबीएस र बीडीएस अध्ययन गर्न गएका हुन्। ‘यसरी पुँजी विदेशिएको तथ्यलाई ध्यानमा राखी फ्याकल्टी, भौतिक पूर्वाधारलगायत तोकिएको मापदण्डबमोजिम सञ्चालनमा रहेका यहाँका मेडिकल कलेजलाई अधिकतम प्रयोग गर्नुपर्ने देखिन्छ’, गौतमले भने, ‘दक्ष जनशक्ति उत्पादन गर्ने हो भने हरेक विश्वविद्यालयले प्रत्येक वर्ष दुई सेसनमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्ने र त्यसरी सञ्चालन गर्दा प्रत्येक सेसनमा बढीमा ७५र७५ विद्यार्थी सिट भर्ना गर्न पाउने गरी अनुमति दिनु उपयुक्त हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.