|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगबाट विकास गरी आर्थिक विकासको ढोका खोल्न केन्द्रित हुने बताएका छन्।

नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसनसिपले 'नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण' बारे शनिबार काठमाडौंमा गरेको अन्तर्क्रियामा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणपछि 'दुई देशबीचको सम्बन्ध नयाँ ढंगबाट विकास हुने संकेत' मिलेको दाबी गरे। ।

'मैले कुटनीतिक क्षेत्रका व्यक्ति, व्यवसायी र सबै क्षेत्रसँग सल्लाह सुझाव लिएको छु। धेरै गहरारइमा गएर विषयलाई बुझेको छु। पक्ष विपक्ष र सबै कोणबाट हेरेको छु। नेपाली जनताको भावना बुझेको छु', प्रधानमन्त्रीले भने, 'जनता र राष्ट्रको हितविपरीत कुनै पनि सम्झौता मबाट हुनेछैन।'

भारतसँगको सम्बन्धलाई नयाँ ढंगबाट विकास गर्ने चुनौती र अवसर दुबै रहेको प्रधानमन्त्रीले बताए। ।

बरु भन्नुस्, भारत जान्नँ…

कार्यक्रमका वक्ताहरुले प्रधानमन्त्रीलाई दिएको सुझाव सुनेपछि कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्रीले आफू दबाबमा रहेको संकेत गरे। 'तपाईँहरुले यति प्रेसर गर्नुभएको छ कि, त्यहाँ गएर यसो नगर उसो नगर भनेर। यसो गर्न पाइन्न, खबरदार ! भन्नुभएको छ', प्रधानमन्त्रीले भने, 'बरु भन्नुहुन्छ भने म भारत नै जान्न।'

प्रधानमन्त्रीअघि पूर्व परराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ. सुजाता कोइराला र डा. भेषबहादुर थापा तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठले बोलेका थिए।

राजनीतिक नेतृत्वले चुनौती मोल्ने भन्दै नेतालाई त्यो छुट हुनुपर्ने प्रधानमन्त्रीले बताए। 'लिडर (नेतृत्व) ले लिड गर्ने हो, चुनौती पनि लिन्छ। रिस्क लिने छुट दिनुपर्छ', प्रधानमन्त्रीले भने, 'जनयुद्धमा चुनौती मोल्यौँ, शान्ति प्रक्रियामा पनि चुनौती मोल्यौँ, चुनौती मोलेकैले संविधान आयो।'

आफूले मुलुकलाई एकताबद्ध बनाउने चुनौती मोलेको भन्दै सबैले साथ दिनुपर्ने उनले बताए।

बोल्यो भने बिग्रन्छ

आफू पहिलोपटक प्रधानमन्त्री बन्दा 'धेरै बोलेर बिग्रिएको' बताउँदै प्रधानमन्त्रीले यसपटक बोल्ने भन्दा काम गर्नेतिर आफ्नो ध्यान रहेको बताए। 'दुई देशबीचको पारस्परिक हितको पक्षमा नयाँ समझदारी हुने विश्वास रहेको' भन्दै प्रधानमन्त्रीले 'विवादमा पर्ने काम नगर्ने' बताए।  

'म यो पटक धेरै बोल्दिन। अघिल्लोपटक प्रधानमन्त्री हुँदा धेरै बोलेको भएरै धेरै कुरा बिग्रेको महसुस भएको छ', प्रधानमन्त्रीले भने, 'हाम्रो विशिष्ट भूराजनीतिक अवस्थामा छिमेकीसँगको सम्बन्ध सन्तुलित राख्नेतर्फ मेरो प्रयास हुन्छ।'  

'भारतले पनि पाठ सिक्नुपर्छ'

प्रधानमन्त्रीले संविधान जारी गर्नुअघि र जारी गरेपछि दुई खालका तीतो अनुभव नेपालले भोगेको भन्दै भविष्यमा नदोहोरिने अपेक्षा आफूले लिएको बताए।

'संविधान जारी हुनु अघि र जारी भएपछि हामीले तीतो अनुभव गर्‍यौँ। दुइवटा अनुभव रह्‍यो। संविधान घोषणापछि नाकाबन्दी पनि बेहोर्‍यौँ', प्रधानमन्त्रीले भने, 'मैले आसन्न भ्रमणबाट गत सालजस्तो नदोहोरिने विश्वास लिएको छु। त्यो वातारण बनाउने प्रयास दुबैतर्फबाट हुनुपर्छ।' छिमेकी मुलुक भारतले पनि गत सालको अनुभवबाट शिक्षा लिनुपर्ने प्रधानमन्त्रीको भनाई थियो।

आन्तरिक राष्ट्रिय एकता बलियो नभए मुलुकमा विकासको साटो विखण्डन हुने भन्दै कुनै समुदाय विशेषलाई होच्याउने काम गर्न नहुने प्रधानमन्त्रीले बताए। 'मेरो पहिलो जोड आन्तरिक राष्ट्रिय एकता बलियो बनाउनेमै हुन्छ', प्रधानमन्त्रीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.