|

काठमाडौं : एमाले नेता लालबाबु पण्डित बिहीबार दिउँसो माउन्टेन टेलिभिजनमा अन्तर्वार्ता रेकर्ड गरेर ४ बजेतिर उनी तीनकुनेस्थित डेरामा पुगेर खाजा खाँदै थिए, नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट फोन आयो, 'तपाईं तुरुन्तै राष्ट्रपति भवन शीतल निवास आइपुग्नुस्। तपाईंले मन्त्रीको शपथ लिनुपर्नेछ।'

त्यसपछि लालबाबु हतार-हतार शीतल निवासतर्फ लागे। दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रमबारे थाहा भए पनि टेलिभिजन अन्तर्वार्तामा जानुपरेका कारण शीतल निवास जाने मनस्थिति नबनाएका लालबाबु अचानक श्रीमतीसहित साथीको गाडीमा लिफ्ट मागेर शीतल निवास पुगे। 

यसअघि एमाले मुख्यालय धुम्बाराहीमा आयोजना गरिएको एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले सांसदहरूलाई निर्देशन दिँदै सकभर पुरुषहरूले दौरासुरुवात र महिलाहरूले साडीचोलो लगाएर आउन भनेका थिए। 'पहिरन कहाँ जाँदा, कस्तो अवस्थामा कस्तो पहिरन? भन्ने हुन्छ', ओलीले भने, संकीर्ण हुन खोजेको होइन तर ख्याल गर्नू। मान्य पुरुषहरू दौरासुरुवाल, कोट, टोपीमा आउनुस्। महिलाहरू सकभर साडीचोलोमा आउनुस्।'

एमाले मुख्यालयतिर प्रधानमन्त्रीमा ओलीसहित महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीलाई मन्त्री बनाइने  चर्चा थियो। सञ्चार माध्यमले पनि सोही समाचार सम्प्रेषण गरिरहेका थिए। प्रधानमन्त्रीको शपथ ग्रहण सुरु हुने बेलासम्म सबैको मुखमा ईश्वर र प्रदीपकै नामको चर्चा थियो। तर मन्त्री घोषणा हुँदा भने अर्कै भइदियो।

प्रधानमन्त्रीको शपथ ग्रहण अपराह्न ४ बजे भनिए पनि साँझ ५ बजेतिर मात्र शपथ ग्रहण प्रक्रिया सुरु भयो। शपथ ग्रहणमा ढिलाइ हुनुको कारण थिए, पूर्व स्थानीय विकासमन्त्री लालबाबु पण्डित। आफू घरमै बसिरहेका बेला 'तपाईं मन्त्री बन्दै हुनुहुन्छ तुरुन्तै शीतल निवास आउनुस्' भनेपछि उनी त्यतातिर दौडिएका थिए। 'दिउँसो ४:१० बजेतिर तीनकुनेस्थित घरमा खाजा खाँदै थिएँ। प्रधानमन्त्रीबाट फोन आएपछि म शीतल निवासतिर लागेँ, नेता पण्डितले भने, 'तपाइ मन्त्री बन्दै हुनुहुन्छ भन्ने जानकारी दिइएको थियो। मलाई पर्खिएर बसेका कारण प्रधानमन्त्रीको शपथ ग्रहण पनि केही समय ढिला भयो।'

मन्त्री बन्ने खबर पाएर शपथका लागि राष्ट्रपति भवन गए पनि कुन विभागीय मन्त्री बनाइँदै छ भन्ने कुरा पनि उनका लागि 'सरप्राइज' नै भयो। 'मलाई साथीले आफ्नो गाडीमा छाडिदिनुभयो। म पुग्दा करिब ४:४० बजेको थियो। गाडीबाट ढोका खोलेर कुर्सीतिर लागेपछि धून बज्न सुरु भयो, पण्डितले भने, 'सुरुमा विना विभागीयमन्त्री भन्ने कुरा थियो। तर जनसंख्या तथा वातावरणमन्त्री भन्ने कुरा त उद्घोषकले घोषणा गरेपछि मात्रै थाहा पाएँ।'

मन्त्री भएपछि पहिले त्यसबारेमा बुझेर जिम्मेवारीअनुसार काम अगाडि बढाउने पण्डितले प्रतिक्रिया दिए। यसअघि पण्डित सामान्य प्रशासनमन्त्री बनेका पण्डित केही लोकप्रिय कार्य र निर्णयका कारण उनको चर्चा चलेको थियो।

बिहीबार प्रधानमन्त्रीको शपथ लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या तथा वातावरणमन्त्रीमा लालबाबु पण्डित र महिला तथा बालबालिकामन्त्रीमा थममाया थापा मगरलाई नियुक्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.