|

काठमाडौं : शनिबार काठमाडौंंमा भएको 'नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण' विषयमक अन्तर्क्रियामा एकजना वक्ता थिइन् कांग्रेस नेतृ सुजाता कोइराला। 

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत भइसकेकी कोइराला नेपाली कांग्रेस अन्तर्राष्ट्रिय विभागको संयोजकका हैसियतमा कार्यक्रममा उपस्थित थिइन्। नेपाल भारत सम्बन्ध र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणबारे मन्तव्य राख्न बोलाइएपछि कोइरालाले 'प्राविधिक कुराभन्दा पनि राजनीतिक कुरा गर्ने' बताइन्। ‘हामी त राजनीतिक मान्छे हौँ, म चाहिँ राजनीतिक कुरा नै गर्छु’ सुरुमै उनले भनिन्। 

कुनै पनि सम्झौता गर्नुपूर्व राष्ट्रिय हितमा छ कि छैन भन्ने विषयमा हेक्का राख्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएकी कोइरालाले रोचक प्रसंग कोट्याइन्। भारतबाट अनेक किसिमको अपमान हुने गरेको भन्दै सचेत र सजग रहन आग्रह गर्दै उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग 'फर्स्ट लेडी' को रुपमा भारत जाँदा आफूले अपमान भएको सुनाइन्।  

भारतका लागि तत्कालीन राजदूत डा. भेषबहादुर थापा समेत उपस्थित कार्यक्रममा थापालाई देखेपछि उक्त घटना सम्झेको बताउँदै कोइरालाले भनिन्, ‘डा. थापालाई देखेपछि मैले सम्झेँ, उहाँ राजदूत भएको बेला भारतले ममाथि अपमान गरेको थियो।’

भारतले एउटा डिनर पार्टीमा आफूलाई निमन्त्रणा कार्ड दिन छुटाएको उनले बताइन्। ‘नियममा कोही मन परे पनि नपरे पनि फर्स्ट लेडीलाई कुनै पनि बैठक वा डिनरमा छुटाउन मिल्दैन तर त्यतिबेला मलाई निमन्त्रणा कार्ड दिइएन’ उनले सम्झिइन्। 

फर्स्ट लेडीका रुपमा गएकी कोइरालालाई निमन्त्रणा कार्ड नदिएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजदूत डा. थापालाई निमन्त्रणा कार्ड उपलब्ध गराउने विषयमा कुरा गरे। तर थापाले कोइरालालाई उक्त कार्ड उपलब्ध गराउन सकेनन्। सुजाताका अनुसार त्यतिबेला गिरिजाले थापालाई फर्स्ट लेडीका लागि कार्ड नदिनू आफ्नो र देशको अपमान भएको बताएका थिए। 

भारतले गर्ने त्यस्ता व्यवहारका कारण सम्बन्ध बिग्रिने ठोकुवा उनले गरिन्। ‘भारतले गरेको त्यो व्यवहार म बिर्सन्नँ, सबैसँग समान व्यवहार गर्नुपर्छ। सानो देश होस् या ठूलो होस्, व्यवहार समान हुनुपर्छ’, उनले भनिन्। 

यति भनेपछि कोइरालाले प्रधानमन्त्रीलाई भारतले गर्ने स–साना व्यवहार ख्याल गर्न सुझाइन् र मन्तव्य सकाएर आफ्नो ठाउँमा गएर बसिन्। प्रधानमन्त्री प्रचण्डसँगै बसेकी सुजाताले मन्तव्य सकेरफर्के लगत्तै प्रचण्डले उनीसँग जिज्ञासा राखे। उनीहरुबीच करिब एक मिनेट खासखुस चल्यो।  

प्रचण्डले हाँस्दै सुजातासँग जिज्ञासा राखेपछि सुजताले थप व्याख्या गरिन्। 

यो पनि पढ्नुस्ः भारतले पनि विगतबाट पाठ सिक्नुपर्छः प्रधानमन्त्री

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.