|

पर्वत : सादगी व्यक्तित्व, सरल, शान्त, मिलनसार स्वभाव अनि बाहिरबाटै हेर्दा पनि सामान्य जीवनयापन। यही नै हो प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारीको व्यक्तित्व।

पर्वतको कुस्मा नगरपालिका– १ पाङमा जन्मिएका अधिकारीको परिचय यतिले मात्र भने पुग्दैन। प्रदेश सभामुखसम्मको पदमा पुग्दा उनले जीवनमा ठूला राजनीतिक त्याग र तपस्या गरेका छन्। उनको जीवनमा थुप्रै उतारचढावहरू छन्। 

‘देउपुरको जस्तो खेती र पाती, बाजुङको जस्तो गाम, उराठै लाग्ने दुर्लुङको डाँडो, मोहनी लाग्ने पाङ’ यस क्षेत्रकै लोकप्रिय लोकोक्ति हो। अधिकारी यही मोहनी लाग्ने गाउँमा वि. सं. २०२२ जेठ महिनामा बुबा थगराज र देवकलाको सन्तानको रूपमा जन्मिएका हुन्। 

समाज परिवर्तनका साना ठूला सबै आन्दोलनमा विद्यार्थी जीवनबाटै सक्रिय रहँदै आएका उनी समाज र देशको गरिबी र बेथिति देखेर यसमा परिवर्तनको नारा बोकेर २०३८ सालमा १६ वर्षको उमेरबाट राजनीतिक यात्रामा अघि बढेका हुन्। नेपालको परिवर्तन कम्युनिस्ट पार्टीबाट मात्र सम्भव छ भन्ने सोचेर निर्दलीय पंचायतकालमा नै तत्कालीन नेकपा चौथोको महाधिवेशनमा आवद्ध हुनु नै राजनीतिमा उनको वामे सराइ थियो।

गाउँकै स्थानीय माध्यमिक विद्यालयमा शिक्षकको रूपमा कार्यरत अधिकारी राजनीतिक चेतनाका कारण तत्कालीन शासकहरूको जालमा परे। शिक्षण पेसाबाटै समाज सुधार र परिवर्तनका कुरा गर्ने अधिकारीलाई शिक्षक आन्दोलनमा सहभागी भएको आरोप लगाउँदै २०४१ सालमा शिक्षकको अस्थायी जागिरबाट बर्खास्त गरियो। जुन विद्यालयमा उनले समाजका लागि योगदान गर्ने भन्दै त्यस बेलामा १८ महिना निःशुल्क अध्यापन गरेका थिए, यही सिलसिलामा उनले जेल जीवनसमेत भोग्नुपर्‍यो। जेल जीवन र पंचायती शासनको यातनाको पीडाले अधिकारीलाई झनै निडर बनायो। फलस्वरूप उनी झनै तेजिलो र तिख्खर राजनीतिकर्मी बनेर जेलबाट निस्किए। 

राजनीतिक यात्राकै क्रममा उनले २०४५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य र २०४८ सालमा नेकपा मशालको म्याग्दी जिल्ला सेक्रेटरी बनेर काम गरे। विक्रमको ५० को दशकको सुरुवाततिर नेकपा एकता केन्द्रको पर्वत, बागलुङ र स्याङ्जा इन्चार्ज तथा सेक्रेटरी बनेर काम गरेका उनलाई २०५२ सालमा नेपालमा जनयुद्ध सुरु भएपछि देशको परिवर्तन सशस्त्र क्रान्तिले मात्र गर्न सक्छ भन्ने लाग्यो। सोही कारण उनी माओवादी जनयुद्धमा सहभागी बने।

जनयुद्धका बेलामा अधिकारीले २०५७ देखि २०५९ सम्म नेकपा माओवादी कास्की जिल्ला सेक्रेटरी, २०५९ देखि २०६० सम्म पार्टीकै स्याङ्जा जिल्ला इन्चार्ज, २०६१ देखि २०६२ सम्म पार्टीको मगरात राज्य कार्यालय सेक्रेटरी र २०६५ सालदेखि गृहजिल्ला पर्वतको पार्टी इन्चार्जको भूमिकामा रही काम गरे।

अधिकारी अहिले नेकपा माओवादी केन्द्र पर्वतको पार्टी इन्चार्जसहित पोलिटब्युरो सदस्यसमेत छन्। 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनले पर्वतको क्षेत्र नम्बर १ बाट निर्वाचनमा सहभागी भए पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीसँग हार व्यहोर्नुपर्‍यो।

फागुन ३ गते बिहीबार बसेको संसदको दोस्रो बैठकले उनलाई सर्वसम्मतिको आधारमा प्रदेश ४ को सभामुखमा निर्विरोध चयन गरेको छ। वाम गठबन्धनबाट सभामुख भएका उनलाई माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले प्रस्ताव र एमाले प्रदेश कमिटी संयोजक किरण गुरुङले समर्थन गरेका थिए। 

अधिकारीलाई सभाध्यक्ष जनकलाल श्रेष्ठले संविधानको धारा १८२ र प्रदेशसभासभा अन्तरिम कार्यसंचालन नियमावली, २०७४ को दफा ६ को उपदफा २ बमोजिम सभामुखमा नियुक्त गरे। यससँगै फागुन ६ गते हुने उपसभामुखको निर्वाचनमा सभामुख अधिकारीले अध्यक्षता गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.