|

काठमाडौं : महिला समाजमा धेरैतर्फबाट असुरक्षित हुन्छन्। शारीरिक रूपमा अपांगता भएकाहरू त झन् धेरै नै हिंसामा परेका हुन्छन्। फरक क्षमता भएका महिलालाई समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ। उनीहरूलाई सिंगो समाज मात्र नभएर आफ्नै परिवारले समेत घरेलु हिंसा गरिरहेका हुन्छन्।

तर यस्ता फरक क्षमता भएकाहरूले पनि अवसर पाउँदा समाजमा केही गरेर देखाउन सक्छन्। यस्तै विषयलाई समेटेर साहित्यकार कल्पना श्रेष्ठ 'कल्पपुञ्ज'ले आफ्नो उपन्यास ‘सञ्जीवनी’ बजारमा ल्याएकी छन्। बोल्न नसक्ने नारी पात्रको पीडालाई समेटेर तयार पारेको उनको उपन्यास ‘सञ्जीवनी’ शुक्रबार काठमाडौंमा सार्वजिनक गरियो। एउटी आवाजविहीन पात्र पूजा र उनको बाल्यकालदेखि करिब ३ दशकको संघर्षलाई कल्पनाले आफ्नो उपन्यास ‘सञ्जीवनी’मा समेटेकी छन्।

स्याङ्जाको एक विकट गाउँमा हुर्केकी पूजाले आफ्नै घरबाट पनि हिंसा भोग्छिन्। परिवारका सबै सदस्यको घरेलु हिंसा भोग्दाभोग्दै पनि पूजा आमाको सहयोगका कारण संघर्ष गरेर पढ्छिन्। गाउँका साथीसँग खेल्न जाँदा पनि उनी नजानिँदो तरिकाबाट हिंसामा नै पर्छिन्। तर पछि काठमाडौं आएर पढेकी उनी संघर्ष गर्न सक्ने बन्छिन्। उनले एक  युवासँग विवाह पनि गर्छिन्। विवाह गरेपछि पनि श्रीमानबाट हिंसामा पर्छिन् पूजा। उनले आफ्नो श्रीमनसँग सम्बन्धविच्छेद पनि गर्छिन्। अन्त्यमा उनले बालआश्रम सञ्चालन गरेर बसेको घटनालाई उपन्यासमा समावेश गरेको कल्पनाले बताइन्। 

उनको उपन्यास ‘सञ्जीवनी’माथि समीक्षक महेश पौड्याल, राम लोहनी र डा. रजनी ढकालले टिप्पणी गरे। उपन्यासमाथि चर्चा गर्दै पौड्यालले नेपाली साहित्य क्षेत्रमा एक फरक उपन्यास ‘सञ्जीवनी’ रहेको बताए। उनले भने, ‘पछिल्लो समय नेपालमा सहित्य लेखनमा पनि प्रतिस्पर्धा छ। तर यो उपन्यासहरू भन्दा धेरै फरक छ। साहित्य क्षेत्रमा साह्रै थोरै मात्र यस्ता विषयलाई समेटिएको पाइन्छ।’ तर उपन्यास ‘सञ्जीवनी’ धेरै नारीवादी भएको बताए। उनले भने, ‘उपन्यास राम्रो हुँदाहुँदै पनि केही कमजोरी पनि छ। समाजमा सबै पुरुष खराब हुँदैनन्। यहाँ सबैलाई खराब देखाउन खोजिएको छ।’

यस्तै, उपन्यासमाथि टिप्पणी गर्दै समीक्षक डा. ढकालले समाजको यथार्थ चित्रण उपन्यासमा रहेको बताइन्। उनले भनिन्, ‘समाजमा यति धेरै महिला हिंसा छ कि सोच्दा पनि आङ जिरिङ्ग हुन्छ। यस्ता घटनालाई साहित्यकारले लेखनमार्फत् बाहिर ल्याउनुपर्छ।’

यस्तै, उपन्यासमाथि समीक्षा गर्दै समीक्षक लोहनीले उपन्यास प्रशंसा गर्न योग्य रहेको बताए। उनले यो उपन्यास तयार पार्न लेखकले धेरै मिहिनेत गर्नुपरेको बताए। तर उपन्यासमा केही कमजोरी रहेको बताए। उनले भने, ‘यो उपन्यासमा राम्रा पक्ष हुँदै गर्दा केही नसमेटिएका पक्ष पनि छन्। आवाजविहीनका बारेमा लेख्दै गर्दा कही सांकेतिक भाषा भेटिएन। उनले यत्रो संघर्ष गर्दा धेरै सांकेतिक भाषा प्रयोग गरिन् होला। यसमा लेखकले ध्यान दिएको भए धेरै राम्रो हुन्यो।’

यस्तै, कार्यक्रममा प्रमुख अतिथिका लागि बोलाइएकी काठमाडौं बहिरा संघकी अध्यक्ष सत्यादेवी वाग्लेले आफूहरू समस्यालाई समेटेर तयार भएको यस उपन्यासले धेरै खुसी बनाएको बताइन्। उनले दोभाषेमार्फत् बोल्दै यस्ता खाले समस्याका बारेमा लेख्नलाई आफूहरू पनि सहयोग गर्ने बताइन्। उनले दोभाषेमार्फत भनिन्, ‘अहिले पनि आवाज नआउने र बोली नआउनेलाई धेरै समस्या छ। शहरमा बस्ने त शिक्षित छन् तर गाउँमा बस्ने अहिले पनि हिंसामा छन्।’

यसैबीच उपन्यासको रोयल्टीले साहित्यकार कल्पनाले २ लाख रुपैयाँको अक्षयकोष स्थापना पनि गरिन्। यो अक्षयकोषमार्फत् फरक क्षमता भएकाको साहित्य क्षेत्रको विकासमा खर्च गर्ने उनले जानकारी दिइन्। उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.