|

दमक(झापा) : नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि नेपाली टोली भारतको पश्चिम बंगाल पुगेको छ। पश्चिम बंगालस्थित सिलगुढीमा आयोजना गरिएको बंगाल ट्राभल मार्टमा सहभागी हुन नेपाली पर्यटन व्यवसायी तथा पर्यटन बोर्डको टोली पुगेको हो। मार्टमा नेपालका ११ स्टल राखिएका छन्। 

नेपाल, भारत, भुटान र बंगलादेशका पर्यटन व्यवसायीहरूका स्टल रहेको मार्टमा नेपाल पर्यटन बोर्डका ६ ओटा साथै पोखरा, धरान तथा इलामका पर्यटन व्यवसायीहरूको पनि सभागिता रहेको छ। शुक्रबार राति बंगाल सरकारका पर्यटन मन्त्री गौतम देवले उद्घाटन गरेको मार्टमा नेपालको सहभागिताले छिमेकी देशहरूमा नेपाली पर्यटनको प्रचारप्रसार र त्यहाँको अनुभव लिने अवसर मिलेको नेपाल पर्यटन बोर्डका पोखरा कार्यालय प्रमुख सूर्य थपलियाले बताए।

‘पश्चिम बंगाल भारतका विभिन्न राज्यहरूको ट्रान्जिट पोइन्ट हो’,थपलियाले भने, ‘कम्तिमा यहाँसम्म आएर नेपाली गन्तव्य तथा पर्यटन क्षेत्रको अवस्थाका बारेमा जानकारी पर्याप्त गराउन सकियो भने पनि धेरै भारतीय पर्यटकहरू नेपाल भित्र्याउन सकिन्छ।’

पर्यटन प्रवद्र्धनका लागि पुगेका पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा पनि व्यवसायीको मात्र पहलभन्दा पनि सरकारी स्तरबाट नै समन्वयकारी भूमिका निर्वाह गर्न जरुरी रहेको बताउँछन्। विभिन्न देशका पर्यटन व्यवसायीहरूले पनि नेपालमा पर्याप्त पर्यटकीय क्षेत्र रहे पनि सहज हवाइसेवाको पहुँच नहुँदा पर्यटकहरूलाई पुर्‍याउन कठिनाई भएको बताएका छन्। 

मार्टमा भुटानबाट सहभागी पर्यटन व्यवसायी मायाँ राईले द्विपक्षीय तथा बहुपक्षीय सरकारहरूको समन्वयबाट आपसमा पर्यटन अभिवृद्धी गर्न सकिने बताइन्। ‘नेपाल र भुटानबीच धेरै समानताहरू पनि रहेका छन्’,उनले भनिन्,‘यही समानताको बारेमा अध्ययन गर्न र रमाउन पनि धेरै भुटानीहरू नेपाल जान चाहन्छन्। झनै लुम्बिनी पुग्ने धेरैको चाहना पनि छ तर हवाई सेवामा हुने समस्याले भुटानीहरू चाहेर पनि सहज रुपमा नेपाल पुग्न सकेका छैनन् ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.