|

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ सरकारी निवास बालुवाटार सरेका छन्।

प्रधानमन्त्रीमा नियुक्त भएको र शपथ ग्रहण गरेको ४ दिनपछि ओली बालुवाटार प्रवेश गरेका हुन्। ओलीको नीजि निवास भक्तपुरको बालकोमा रहेको छ। उनी बालकोटबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका हुन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा गत शुक्रबार बालुवाटारबाट बाहिरिएका थिए।  

आइतबार दिउँसो ४ बजे बालुवाटार प्रवेश गर्ने कार्यक्रम रहेपनि प्रधानमन्त्री ओली साँझ मात्रै बालुवाटार पुगेका थिए। उनलाई त्यहाँ स्वागत गर्न पार्टीका कार्यकर्ता, सुरक्षाकर्मीदेखि सर्वसाधारणको भीड लागेको थियो। बालुवाटार प्रवेश गर्न आएका प्रधानमन्त्री ओलीको स्वागतमा पार्टी कार्यकर्ता र सर्वसाधारणले फूलमाला दिनुका साथै र 'स्वागतम्' लेखेका फ्लेक्स प्रदर्शन गरेका थिए।

ओलीले उनीहरुसँग हात मिलाएर स्वागत स्वीकार गरे।

प्रधानमन्त्रीका रुपमा दोस्रोपटक बालुवाटार प्रवेश गर्दा ओलीले पहिलो कार्यकालको अन्तिममा बालुवाटार छाड्नेबेला रोपेको पिपलको बोटमा पानी हालेका थिए। उनले पहिलो ९ महिने कार्यकालको अन्तिममा २०७३ साउन १९ गते बालुवाटार छोड्नेबेला पिपलको विरुवा रोपेका थिए।

१९ महिनापछि प्रधानमन्त्रीका रुपमा बालुवाटार प्रवेश गरेका ओलीले उक्त पिपलको बोटबारे चासो राखेका थिए। पछि ओली दम्पतीले पानी हाले र बालुवाटार प्रवेश गरे।

त्यस्तै, बालुवाटार प्रवेशका क्रममा ओलीले पूजा पनि गर्न भ्याए। उनले धेरै लामो पूजा नगरेपनि सामान्य पूजा गरेका थिए। पूजापछि उनले टीका ग्रहण गरेका थिए।

प्रधानमन्त्री ओलीले बालुवाटार प्रवेशका क्रममा सेनाको एक टुकडीबाट सलामी पनि ग्रहण गरेका थिए।

हेर्नुहोस्, फोटो:

फोटो : रासस

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.