|

रौतहट : चन्द्रपुर नगरपालिका–३ गंैडाटारमा लगाइएको उन्नत जातका मकैमा दाना नलाग्दा किसान मर्कामा परेका छन्। करिव तीन सय बिगाहमा लगाइएको मकैमा दाना नलागेपछि नौ सयभन्दा बढी किसान प्रभावित भएका छन्।

गत कात्तिकमा लगाइएको बन्नी र डायगन जातको मकैमा दाना नलागेपछि किसानले संघर्ष समिति गठन गरेका छन्। विगतका वर्षहरूमा प्रतिकट्ठा चार क्विन्टलसम्म मकै उत्पादन हुने ठाउँमा यस वर्ष उत्पादन शून्य हुने भएपछि बाध्य भएर आन्दोलनमा  उत्रिनु परेको संघर्ष समितिका संयोजक लोकनाथ दाहालले बताए।

यस क्षेत्रमा पाँच सय बिगाहमा मकै खेती गरिएकामा यस जातका बीउ लगाइएको तीन सय बिगाहमा समस्या देखिएको संयोजक दाहालले बताए। उनले भने, ‘अन्य जातको मकैमा दाना लागेको छ, तर यी दुइ जातको मकैको घोगामा मात्र लागकाले दाना बीउ नै खराब भन्ने लागेको छ।’ 

उक्त गाउँमा सगरमाथा कृषि सहकारी संस्था, चन्द्रनिगाहपुरका मैनाली एग्रोभेट, मगलेश्वर एग्रोभेट, राहुल एग्रोभेटलगायतका संघ संस्थाले उपलब्ध गराएको बीउ लगाइएको थियो। 
 
भारतको हैदराबादमा उत्पादन भएको बन्नी एनएमएच ७१३ जातको बीउ नेपालको अरबिन्द एग्रोभेट कलैयाले नेपाल भरी वितरण गर्ने गरेको छ। उक्त बीउ यहाँका किसानले लगाएको मैनाली एग्रोभेटका सञ्चालक दिनेश मैनालीले बताए।

धेरै उत्पादन हुने भन्दै किसानले नेपाल सरकारबाट मान्यता प्राप्त जातको उन्नत जातका बीउ लगाएका हुन्। उन्नत जात भनेर सिफारिस गरेको बीउको मकैमा दाना नै नलागेपछि सरकारसँग क्षतिपूर्तिको माग गरेको किसानहरुले बताए। 

यता जिल्ला कृषि विकास कार्यालय रौतहटका निमित्त प्रमुख सरोजकुमार यादवले मौसमको खराबीको कारण मकैको घोगामा दाना नलागेको बताए। मकै रोप्ने समयमा १२ डिग्रीभन्दा माथि तापक्रम हुनुपर्ने भएता पनि यस वर्ष अत्यधिक चिसोको कारण यस्तो भएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.