|

भद्रपुर (झापा) : नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतीय बजारभन्दा सस्तो हुने भएकाले सीमावर्ती नाकाबाट भारततर्फ तस्करी बढिरहेको छ। 

झापाको खुल्ला सीमानाको फाइदा उठाउँदै पछिल्लो समय तस्कर समूहले नेपालबाट पेट्रोलियम पदार्थ खुलेआम भारत तस्करी गर्न थालेका छन्। 

सीमा तैनाथ नेपालका सुरक्षाकर्मीले नियन्त्रणमा खासैचासो नदेखाउँदा पेट्रोलियम पदार्थको तस्करी फस्टाउँदै गएको हो। यसैक्रममा नेपालबाट भारततर्फ ट्याक्टरमा लोड गरी लगिरहेको ४९ हजार ८ सय मूल्य बराबरको डिजेलसहित भारतीय नागरिकलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ।  

भारतको डोरिया पाँचगाछी निवासी ३६ वर्षीय ट्याक्टर चालक उमाशंकर गिरीलाई एसएबसी १२ नम्बर बटालियनले नियन्त्रणमा लिएको हो। 
झापाको १२८ नम्बर पिलरस्थित घेरावारी–पिडालबाडी नाकाबाट नम्बर उल्लेख नभएको ट्याक्टरमा ६ सय लिटर डिजेल भारत लगिरहेको अवस्थामा नियन्त्रणमा लिएको भारतीय एसएसबी १२ बटालियनका डी कम्पनी धनतोला बीओपीका सब इन्स्पेक्टर आतिशकुमार मण्डलले बताए। 

नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी फस्टाएपछि सीमा क्षेत्रमा विशेष निगरानी राखी डिजेल बरामद गरिएको उनले बताए। बरामद गरिएको डिजेल र ट्याक्टरलाई भारतीय ४  लाख २२ हजार मूल्यांकन तोकेर भन्सारमा बुझाइसकिएको जनाइएको छ। 

झापाको काकँडभिट्टा, भद्रपुर, केचनकवल, झापा, गौरीगञ्ज नाकाबाट भन्सार छलेर नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ, जनावरको हड्डी तथा छाला तस्करी हँुदै आएको छ भने भारतबाट लत्ताकपडा, कस्मेटिक सामग्री, हार्डवेयर, मोटरपार्टसका सामान नेपाल भित्रिने गर्छ। 

भारत भन्दा नेपालमा धेरै सस्तो 

भारत भन्दा नेपालमा पेट्रोलियम पदार्थ १५ देखि २१ रुपैयाँसम्म सस्तोमा पाइन्छ। 
नेपालमा पेट्रोलको मूल्य १ सय ४ रुपैयाँ पर्छ भने भारतको विहार राज्यमा १ सय १९ रुपैयाँ ५० पैसा पर्छ। डिजेल र मट्टितेल नेपालमा ८३ रुपैयाँ छ भने विहारमा १ सय ४ रुपैयाँ पर्छ। 

प्रतिलिटर पेट्रोल नेपालबाट भारततर्फ लगिएमा १५ रुपैयाँ फाइदा हुन्छ। डिजेल र मट्टितेलमा प्रतिलिटर २१ रुपैयाँ फाइदा हुन्छ। त्यसैले सीमा क्षेत्रमा सञ्चालित नेपालका डिपोहरूबाट खरिद गरी तस्कर समूहले दैनिक रुपमा पेट्रोलियम पदार्थ भारत चोरी पैठारी गर्दै आएका छन्। 

भारतीय बजारमा  लगेवापत बापत तस्कर समूहमा आवद्ध कारोबारीले प्रतिलिटर १० देखि १५ रुपैयाँ कमिसन पाउने गरेको स्रोतको दावी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.