|

  • धर्मराज जिसी

सुर्खेत : प्रदेश ६ मा खटाइएका कर्मचारी अझै कार्यालयमा उपस्थित नहुँदा प्रदेशसभाको दैनिक कामकाजमा समस्या भएको छ। संघीय सरकारले प्रदेश ६ मा खटाएका २ सय १५ कर्मचारीमध्ये १ सय ५३ जना अझै उपस्थित नहुँदा रहेका कामकाजमा समस्या भएको हो। सोमबारसम्म प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा र विभिन्न मन्त्रालयमा ६२ कर्मचारी मात्रै हाजिर भएका छन्।

प्रदेश प्रमुख तथा प्रदेशसभाको कार्यालयमा  माघ ५ देखि नै सञ्चालनमा आइसकेका छन्। मुख्यमन्त्री र मन्त्रीहरू नियुक्त भइसकेका छन्। तर, कर्मचारी नआउँदा कामकाज प्रभावित भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले केन्द्रले पठाएका कर्मचारीका विषयमा जानकारी नआएको र उनीहरू पनि सम्पर्कमा नआएको बताए। प्रदेशसभा सचिवालयमा संघीय संसद्बाट सहसचिव कृष्णहरि खड्काको नेतृत्वमा आएको चारजनाको टोलीले अधिवेशन सञ्चालन तथा सभामुख निर्वाचनलगायतका काम गरेको थियो। तर, सचिवालयमा खटाएका २८ मध्ये चारजना कर्मचारी मात्रै हाजिर भएका छन्।

संघीय सरकारले प्रदेश ६ मा २ सय १५ कर्मचारीको दरबन्दी सिर्जना गरेको छ। तर, प्रदेशमा खटाइएका कर्मचारीको जानकारीसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अहिलेसम्म जानकारी छैन। प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालय, मुख्यमन्त्रीसहित ७ मन्त्रालयमा ६२ कर्मचारी मात्रै हाजिर भएका छन्। त्यसमा शाखा अधिकृत, उपसचिव र सहसचिव तहका २४ र खरिदार, नायव सुब्बा तहका ३८ कर्मचारी छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार २४ जना कर्मचारी सम्पर्कमा आए पनि उपस्थित भएका छैनन्। त्यसमा शाखा अधिकृत, उपसचिव र सहसचिव तहका ११ र खरिदार, नायव सुब्बा तहका १३ जना छन्।

भौतिक पूर्वाधार मन्त्रालयबाहेक अन्य मन्त्रालयमा सचिव आएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन सचिव यज्ञराज बोहोरा हाजिर भए पनि कानुन सचिवको टुंगो छैन। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा केशव आचार्य, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ढुण्डी निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा विद्यानाथ झा हाजिर भइसकेका छन्।

सामाजिक विकास मन्त्रालयमा गिरिजा शर्मा आउने भनिए पनि अहिलेसम्म हाजिर  भइनसकेको बताइएको छ। उनी दक्षिण कोरियाको भ्रमणमा रहेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.