मृत्यु हुनेमा ५० बालबालिका

|
AFP

सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले दुई दिनदेखि लगातार गरेको बमबारीमा २ सय ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५० जनाभन्दा बढी बालबालिका रहेको बताइएको छ। सिरियाली सहायता संगठनका कार्यकर्ताले सन् २०१३ मा राजधानी दमास्कस नजिक भएको यो सबैभन्दा ठूलो आक्रमण भएको जनाएका छन्।

संयुक्त राष्ट्रसंघले यहाँको अवस्था नियन्त्रण बाहिर गइरहेको जनाएको छ। राष्ट्रसंघले दुई दिनको आक्रमणमा ६ वटा अस्पताललाई निशाना बनाइएको दाबी गरेको छ।

संयुक्त राष्ट्र संघका प्रवत्ता रियाल लेबलाङ्कले नागरिक, अस्पताल र विद्यालयमा लगातार भइरहेको हिंसाको निन्दा गरेका छन्। उनले सिरियामा मानवीय कानुनको चरम उल्लंघन भएको भन्दै सबै पक्षलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन्।

सिरियामा लगातार सर्वसाधारण मारिएका खबर सार्वजनिक भइरहँदा त्यहाँको सेनाले त्यसको खण्डन गरेको छैन। उसले सेनाविरुद्ध जहाँबाट आक्रमण गरिएको हो त्यहीँ प्रतिकार गरिएको जनाएको छ।

सिरियाका सांसदहरुले भने चरमपन्थीमाथि नै हमला गरिएको जनाएका छन्। उनीहरुले आक्रमणमा नागरिकलाई निशाना नबनाइएको दाबी गरेका छन्। सरकारी सेनाले पूर्वी गुटालाई आतंकवादी समूहबाट मुक्त गर्ने प्रयास भइरहेको दाबी गरेको छ।

राजधानी दमास्कस नजिक रहेको यो  विद्रोहीले कब्जामा लिएको अन्तिम शहर हो। रुसको समर्थन पाएको सरकारी सेनाले यो क्षेत्रलाई कब्जामुक्त गर्ने प्रयास गरिरहेको छ।

यसैबीच सिरियाली सरकारी सेना कुर्दिसको गढ मानिने आफरिन प्रवेश गरेको छ। टर्किस सेनाले अभियान चलाइरहेको सो गढमा सिरियाली सेना प्रवेश गरेपछि टर्किस सेनाले गोलाबारी गरी उनीहरुलाई हटाउने प्रयास जारी राखेको छ।

साथै टर्किस सेनाले आफरिन क्षेत्रमा धावा बोले सिरियाली गृहयुद्धको दुई प्रमुख पक्षबीच युद्ध शुरु हुने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.